वर्ल्डलिंकले एकै वर्ष गर्‍यो ११ अर्बको व्यापार


काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले एकै वर्ष ११ अर्ब १२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ११ अर्ब बढीको व्यापार गरेको हो ।

सन् २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९६ बाट निरन्तर इन्टनेट सेवा दिँदै आएको कम्पनी नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले सन् २०१९ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीले ‘वर्ल्डलिंक’ ब्रान्डमा सेवा दिँदै आएको छ ।

बजारमा इन्टरनेटको माग उच्च भई ग्राहक बढ्दा सन् २०२४ मा व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ । कम्पनीअनुसार सन् २०२४ मा ७.७० प्रतिशतले व्यापार वृद्धि भएको उल्लेख गरेको छ ।

वर्ल्डलिंक नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा ठूलो सेवा प्रदायक संस्था हो । कम्पनीले इन्टरनेट सेवा प्रदायक क्षेत्रको ३२ प्रतिशत हिस्सा ओगटेको छ ।

कम्पनीको सन् २०२४ मा प्रति युनिट औसत आम्दानी घटेको पाइएको छ । सन् २०२३ मा प्रति युनिट ९ सय ८७ रुपैयाँ रहेकोमा सन् २०२४ मा ९ सय २७ रुपैयाँ कायम भएको थियो । तर, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा भने बढेर प्रति युनिट ८ सय ६१ रुपैयाँ पुगेको छ ।

सन् २०२४ मा ११ अर्बको व्यापार गर्दा ५० प्रतिशत आम्दानी इन्टरनेटबाट भएको छ । त्यस्तै ४२ प्रतिशत व्यापार टेक्निकल सपोर्ट र ८ प्रतिशत विभिन्न सामग्री बिक्री वितरण गरेको भएको उल्लेख गरेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२४ मा ३१.४५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२३ मा ३३.४५ प्रतिशतले नाफा कमाएको थियो । साथै, कम्पनीले चालु आर्थिक वर्षको ९ मपहनाको अवधिमा ८ अर्ब ७२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा व्यापार ९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । कम्पनीले सो अवधिमा ३०.५१ प्रतिशतले नाफा कमाएको छ ।

हाल देशभर ३१ लाख ३० हजार ६ सय ५५ इन्टरनेट सस्क्राइबर छन् । त्यसमध्ये कम्पनीको १० लाख सब्स्क्राइबर छन् । कम्पनीले देशभरको ४० प्रतिशत इन्टरनेट ब्यान्डविथ ओगटेको छ । वर्ल्डलिंकले ७० भन्दा बढी जिल्लामा र १० हजार बढी अफिस तथा अर्गनाइजेशनमा सेवा पुर्याएका छन् कम्पनीको देशभर १ सय ४० वटा शाखा छन् ।

दिलिप अग्रवाल अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १९ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टले १ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी कम्पनीमा डोल्मा इम्प्याक्ट फन्डले ९० करोड लगानी गरेको छ । कम्पनीअनुसार उक्त दुई कम्पनीले विदेशी लगानी भित्र्याएसँगै विदेशी कम्पनीको इक्वीटी इन्फ्यूजन २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले विदेशी लगानी भित्र्याएको रकम पूर्वाधार निर्माणमा खर्च हुने उल्लेख गरेको छ । सीडीसी ग्रुपले विश्वभर १५ सयभन्दा बढी आर्थिक क्षेत्रमा ८ अर्ब पाउन्ड लगानी गरिसकेको छ ।

डोल्मा इम्प्याक्ट फण्ड संस्थागत लगानीकर्ता हो । फण्डले नेपालमा उद्यमशीलता र व्यवस्थापन क्षमता भएका साना तथा मझौला उद्यमलाई उपलब्ध गराउने नेपालको पहिलो कमर्सियल इम्प्याक्ट फण्ड बनेको छ ।

नेपालको फाइबर कनेक्टीभीटीको पायोनियर बनेको वर्ल्डलिंक कम्पनी स्याटालाइट जडान गर्ने पहिलो निजी कम्पनी हो । त्यस्तै, आफ्नै वायरलेस ट्रङ्क नेटवर्क रहेको पहिलो कम्पनी पनि हो ।

वर्ल्डलिंकले धेरै अनुसन्धान गरेर सन् २०१२ मा फाइबर टु द होम (एफटीटीएच) सेवाको सुरुवात गरेको थियो । सन् २०१८ मा फिनिस मल्टीनेशनल आइटी इफ्रास्ट्रक्चर फम नोकियासँग सहकार्य गरेर एफटीटीएच सेवाको विस्तार गरी १० लाख नेपाली घरलाई सेवा प्रदान गरेको थियो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको नेपालमा उच्च प्रतिस्पर्धा छ । जसले गर्दा वर्ल्डलिंकले आफ्नो बजार हिस्सा गुमाउँदै गएको देखिन्छ ।