
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट भएको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको अपचलन सम्बन्धी मुद्दा दायर भएको हो ।
सरकारी वकिलको कार्यालय पर्साले प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो।
अभियोगपत्रमा रवि लामिछानेविरुद्ध मात्र ५ करोड ७४ लाख ३० हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । सहकारीले करिब ८ सयभन्दा बढी बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो।
सहकारीले ऐनविपरित वीरगञ्ज क्षेत्रबाहिरका व्यक्तिहरूलाई ऋण प्रवाह गरी करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्रबाहिर लगानी गरेर रकम अपचलन गरेको आरोप छ । संस्थाले जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनललाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख, र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड एक लाख रुपैयाँ कर्जा दिएको विवरण अभियोगपत्रमा उल्लेख छ ।
यसबीच, लामिछाने रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन्।
प्रतिक्रिया