बेलिब्रिज खसेर घाइते भएका तीन मजदुरको मृत्यु


पाँचथर । पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन जना मजदुरको मृत्यु भएको छ।

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।

गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।