एयर इन्डियाको उडानमा बमको सूचना आएपछि गरियो आकस्मिक अवतरण

1.1k
Shares

एयर इन्डियाको एक उडानमा बम भएको सूचना आएपछि आकस्मिक अवतरण गरिएको छ ।

एआई ३७९ शुक्रवार थाइल्यान्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ आउँदै गरेको बेलामा बमको सूचना आएपछि फुकेतमै अवतरण गरिएको हो ।

बिहीवार एयर इन्डियाको विमान भारतको अहमदाबादबाट उडेलगत्तै दुर्घटनाग्रस्त भएको घटनाको २४ घन्टा पनि बित्न नपाउँदै बम राखेको हल्लाले एयर इन्डियाको अर्को विमानको आकस्मिक अवतरण गर्नुपरेको हो ।

फुकेत विमानस्थलबाट उडेको केही मिनेटभित्रै विमान पुनः त्यहीँ फर्केको हो ।

विमानका यात्रुहरूलाई तत्कालै सुरक्षित रूपमा निकालिएको थाइल्यान्ड विमानस्थल प्राधिकरणका एक अधिकारीले बताए ।

उक्त विमानमा १५६ यात्रु थिए । विमान उडेलगत्तै बम रहेको सूचना आएको थियो ।

शुक्रवार बिहान स्थानीय समयअनुसार साढे ९ बजे विमान उडेको थियो । बमको हल्ला आएपछि विमानले अन्डमान सागरमा लामो फन्का लगाएर फुकेतमै फर्किएको फ्‌लाइटरेडार२४ ले देखाएको छ ।

बमका सम्बन्धमा विस्तृत विवरण प्राप्त भएको छैन । अहिलेसम्म विमानमा कुनै बम फेला नपरेको अधिकारीहरूले बताएका छन् ।