यी २८ वर्षे युवालाई १५ अर्ब डलर दिएर किन ल्याउन खोज्दैछ फेसबूक ?

4k
Shares


एजेन्सी । तपाईंले अलेक्जेन्डर वाङको नाम सुन्नुभएको छैन होला । तर अब मज्जाले सुन्नुहुनेछ ।

यी २८ वर्षीय व्यक्तिलाई फेसबूकका मालिक मार्क जकरबर्गले १५ अर्ब डलर खर्च गरेर मेटामा भित्र्याउन लागेका छन् ।

वाङ स्केल एआई नामक डेटा कम्पनीका सीईओ हुन् । त्यसले मेटा र ओपनएआई जस्ता एआई क्षेत्रका ठूला कम्पनीहरूसँग मिलेर काम गर्छ । मेटाले स्केल एआईको ४९ प्रतिशत सेयर किन्नका लागि १५ अर्ब डलर खर्च गर्ने भएको छ ।

त्यति ठूलो लगानी गरेर मेटा के पाउँछ त ?

एआईको क्षेत्रमा द्रुत प्रगति गरी आफ्‌ना प्रतिस्पर्धीहरूलाई उछिन्न खोजेको मेटाले स्केल एआईको सेयर किनेर त्यसलाई आफ्‌नो पक्षमा पार्न खोजेको हो ।

यसलाई बिजनेसको भाषामा एक्विहायर भनिन्छ । सीमित सम्भावना भएको सानो स्टार्टअप कम्पनीले ठूलो कम्पनीमा गएर बेचिनुलाई एक्विहायर भनिन्छ । यस्तो स्थितिमा ठूलो कम्पनीले सानो कम्पनीको उत्पादन भन्दा पनि कम्पनीका कर्मचारीहरूमा चासो देखाएको हुन्छ । यसरी किनबेचको सम्झौता हुँदा सानो कम्पनीले केही बनाइरहेको थियो भने पनि त्यो बनाउन छोड्छ ।

स्टार्टअपका संस्थापक र कर्मचारीहरूका लागि एक्विहायर सफ्‌ट ल्यान्डिङका रूपमा लिइन्छ किनकि यसले कतिपय कर्मचारीको रोजगारी सुनिश्चित गर्छ । यसले स्टार्टअपका लगानीकर्ताहरूलाई आफ्‌नो लगानी रकम फिर्ता लिन पनि सहयोग गर्छ ।

अमेरिकाको सिलिकन भ्यालीमा यस्ता किसिमका सम्झौताहरू सामान्य थिए । तर, अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडनले यसमा आंशिक रोक लगाएका थिए ।

अहिले डोनल्ड ट्रम्पको कार्यकालमा यस्तो सम्झौता पुनः हुन थालेको छ । विशेषगरी एआईको सवालमा ठूलो रकम तिरेर सम्झौता हुने गरेको छ ।

पोहोर साल माइक्रोसफ्‌टले एआई स्टार्टअप इन्फ्‌लेक्शन किन्नका लागि ६५ करोड डलर खर्च गरेको थियो।

माइक्रोसफ्‌टले इन्फ्‌लेक्शनका संस्थापक मुस्तफा सुलेमान र उनको टोलीका केही सदस्यलाई नियुक्त गर्नका लागि त्यति ठूलो रकम खर्च गरेको थियो।

त्यसैगरी गूगलले क्यारेक्टर डट एआईसँगको सम्झौताका लागि २.७ अर्ब डलर खर्च गरेको थियो । खासमा गूगलले क्यारेक्टर डट एआईका संसथापक नोआम शाजीर र उनका कतिपय कर्मचारीमा लगानी गरेको हो ।

अहिले मार्क जकरबर्गले नयाँ सम्झौतामार्फत त्यही प्रवृत्तिलाई निरन्तरता दिएका हुन् । उनले अलेक्जेन्डर वाङ र साथीहरूलाई मेटाको एआई ल्याब चलाउनका लागि भित्र्याउन खोजेका हुन् ।

वाङको स्केल एआईले गरिरहेको काम मेटामा गर्न लगाएर एआईको क्षेत्रमा अग्रणी बन्ने धोको जकरबर्गले राखेका हुन् ।

अचम्मको कुरा त, वाङ एआई वैज्ञानिक पनि हैनन् । उनी प्राविधिक ज्ञान भएका व्यवस्थापक हुन् । जकरबर्गले हालैका दिनमा प्रतिभाशाली एआई वैज्ञानिकहरूलाई ठूलो तलब दिएर ल्याइरहेका छन् । तर, वाङले मेटाको प्रचारप्रसारमा सहयोग गर्ने अपेक्षा जकरबर्गले लिएका छन् ।

जकरबर्गले यसअघि पनि प्रतिभाशाली व्यक्तिहरूलाई आफ्‌नो कम्पनीमा ल्याउने गरेका थिए तर उनीहरू बीचैमा छोडेर हिँडेका थिए । इन्स्टाग्राम र ह्‌वाट्सयापका सहसंस्थापकहरूमाथि जकरबर्गले अर्बौं रुपैयाँ खर्च गरेको भए पनि उनीहरू मेटा छोडेर हिँडिदिए । इन्स्टाग्रामका सहसंस्थापक माइक क्रिगरले एन्थ्रोपिक कम्पनी खोलेर मेटासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

तर, अलेक्जेन्डर वाङबाट आफूले लाभ उठाउन सक्ने अपेक्षा जकरबर्गले गरिरहेका छन् ।