
तस्बिर : गेट्टी इमेजेज
इजरायलले शुक्रवार इरानी सेनाको हेडक्वार्टरका साथै आणविक भट्टी लगायतका स्थानमा हवाई आक्रमण गरेको छ ।
२०० भन्दा बढी लडाकू विमानले गरेको आक्रमणमा इरानका शीर्ष सैन्य अधिकृतका साथै आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।
इजरायलको आक्रमणका कारण इरानी सेनाका प्रधान सेनापति जनरल मोहम्मद बाघेरीको मृत्यु भएको छ । सैनिक बल रिभोल्युशनरी गार्ड्सका कमान्डर होसेन सलामी र इरानको इमर्जेन्सी कमान्डका कमान्डरको पनि मृत्यु भएको छ ।
नतान्ज आणविक भट्टीमा समेत आक्रमण गरिएको जानकारी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दिएका छन् । उक्त भट्टीमा युरेनियम संवर्धन गरिन्छ । इसफाहान प्रान्तमा रहेको उक्त भट्टीमा आक्रमण हुँदा धूँवाको मुश्लो उडेको भिडियो इरानको प्रेसटीभीले सार्वजनिक गरेको छ ।
उक्त आक्रमणमा ६ जना आणविक वैज्ञानिकहरू मारिएको इरानले जनाएको छ । तर आणविक भट्टीमा ठूलो क्षति नपुगेको उसको भनाइ छ ।
राइजिङ लायन नाम दिइएको यस सैन्य कारवाही धेरै दिनसम्म चलिरहने नेतान्याहुले बताए । इजरायलको अस्तित्वलाई जोखिममा पार्ने इरानी खतरालाई रोक्नका लागि यो कारवाही चलाइएको उनको कथन छ ।
इजरायली आक्रमणको जवाफमा इरानले १०० वटा ड्रोन प्रहार गरेको इजरायली सेनाका एक प्रवक्ताले बताए । ती ड्रोनहरूलाई आकाशबाट खसाउने काम भइरहेको उनले जनाए ।
प्रतिक्रिया