ह्‌वाट्सयापको विकल्पका रूपमा रुसले भ्लाद्स याप ल्याउने, डिजिटल सार्वभौमसत्ताको खोजी

161
Shares

रुसले आफ्‌नो देशको सीमाभित्र मात्र उपयोग गर्न मिल्ने मेसेजिङ याप ल्याउन खोजेको छ ।

रुस सरकारले विकसित गरेको मेसेजिङ एप्लिकेशन भ्लाद्स यापको भूराजनीतिक र प्राविधिक परिणाम दूरगामी हुने देखिन्छ । भ्लाद्स याप ल्याएर रुसले ह्‌वाट्सयाप र टेलिग्राम जस्ता विशाल कम्पनीहरूलाई रुसमा चल्न नदिने योजना बनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नाममा आधारित भई यापको न्वारन गरिएको हो । यसले रुसको सार्वभौम डिजिटल प्रणाली स्थापना गर्ने र देशभित्र सूचनाको प्रवाहमा थप नियन्त्रण कायम गर्ने बताइएको छ । याप बनाउने प्रस्तावलाई देशको संसद्को तल्लो सदन ड्युमाले पारित गरिसकेको छ र यसलाई माथिल्लो सदनबाट पारित गर्न तथा राष्ट्रपति पुटिनबाट प्रमाणीकरण हुन बाँकी छ ।

रुसी अधिकारीहरूका अनुसार, भ्लाद्स यापले मेसेजिङ सुविधा मात्र दिँदैन । ह्‌वाट्सयाप वा टेलिग्राम भन्दा फरक हुने गरी केन्द्रीय र स्थानीय स्तरमा डिजिटल पूर्वाधारसँग जोडिन्छ । प्रयोगकर्ताहरूले डिजिटल रूपमा करारमा सम्झौता गर्न पाउँछन्, वस्तु र सेवाका लागि भुक्तानी गर्न पाउँछन्, शिक्षा सम्बन्धी वेबसाइटमा पहुँच पाउँछन् र व्यक्तिगत सूचना साझा गर्न पाउँछन् । यो सबै कुरा प्रयोगकर्ताको सहमतिमै गरिन्छ । चीनको वीच्याट याप पनि यस्तै किसिमको बहुउद्देश्यीय छ ।

रुसका डिजिटल विकासमन्त्री माक्सुत शादायेभले यस्ता किसिमका सार्वभौम सञ्चार प्रणालीमा अन्य मुलुकहरू निकै अगाडि बढिसकेको बताउँदै यापमा सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने काम आवश्यक रहेको बताए । राष्ट्रिय स्तरमा बनेको सुरक्षित याप ल्याउनु प्राथमिकताको विषय भएकोमा उनले जोड दिए ।

ड्युमाको सूचना नीति समितिका अध्यक्ष सर्गे बोयार्‌स्कीले असुरक्षित विदेशी मेसेजिङ यापलाई यसले विस्थापित गर्न खोजेको बताए । डिजिटल सार्वभौसत्ता स्थापित गर्ने रुसको प्रयासको यो प्रमुख कडी भएको उनको भनाइ छ ।

हालैका वर्षमा पश्चिमसँगको तनाव बढ्दै गएपछि रुसका विरुद्ध आर्थिक प्रतिबन्ध र साइबर आक्रमण बढेपछि रुसले डिजिटल सार्वभौमसत्तामा जोड दिन थालेको छ ।

रुसमा ह्‌वाट्सयाप र टेलिग्राम व्यापक रूपमा उपयोग गरिन्छ र त्यसमा प्रतिबन्ध लगाइएमा रुसीहरूको अन्लाइन कनेक्शनमा आमूल परिवर्तन आउनेछ । रुसको सुरक्षामाथि जोखिम पार्ने वा विदेशी प्रभाव कायम गर्ने माध्यमका रूपमा विदेशी यापहरूको दुरुपयोग भएको रुस सरकारको बुझाइ छ । विदेशी यापलाई रणनीतिक रूपमै विस्थापित गर्न रुसले प्रयास गरेको हो ।

भ्लाद्स याप तत्कालका लागि रुसीहरूले मात्र उपयोग गर्न पाउँछन् । निकट भविष्यमा अन्तर्राष्ट्रिय प्रयोगकर्ताले यसमा पहुँच पाउने छैनन् । विश्वव्यापी इन्टरनेटमा रुसको डिजिटल स्पेस थप एक्लिँदै गएको संकेत यसबाट पाइन्छ ।