
एजेन्सी । अस्ट्रेलेसियन फिलोसोफी जर्नलमा दुई साताअघि प्रकाशित एक लेखले स्मार्टफोन आधुनिक युगको परजीवी भएको दाबी गरेको छ ।
रेचल एल ब्राउन र रोबर्ट सी ब्रूक्सले लेखेको उक्त लेखमा जुका, लिखा लगायतका परजीवीहरू मानव विकासक्रममा मानवजातिमा आश्रित रहिरहने गरेको उल्लेख गर्दै आधुनिक युगको सबैभन्दा ठूलो परजीवी रगत चुस्ने कीरा होइन स्मार्टफोन भएको दाबी गरिएको छ । लत लाग्ने डिजाइनसहितको स्मार्टफोनले संसारमा वाइफाइ सिग्नल भएको प्रत्येक मानिसको दिमाग चुस्ने गरेको छ ।
स्मार्टफोनहरूले हाम्रो समय, ध्यान र व्यक्तिगत जानकारीलाई प्रविधि कम्पनी र विज्ञापनदाताको हितका लागि प्रयोग गरेर हामीमाथि परजीवीजस्तै व्यवहार गर्छन् भनी लेखकहरूले दाबी गरेका छन् ।
जीववैज्ञानिकहरूले परजीवीलाई अर्को प्रजातिसँगको नजिकको सम्बन्धबाट फाइदा लिने प्रजातिका रूपमा परिभाषित गर्छन् । त्यस्तो परजीवीले होस्ट प्रजातिलाई हानि पुर्याउँछ ।
उदाहरणका लागि, टाउकोको लिखा र जिउमा टाँसिने जुका पूर्ण रूपमा मानिसको रगतमा आश्रित हुन्छ । त्यो मानिसको रगत खाएर मात्र बाँच्छ र मानिसको शरीरबाट अलग भएमा तुरुन्तै मर्छ । त्यसले मानिसको रगत खाएर बदलामा केही पनि दिँदैन, उल्टो मानिसले जिउ कन्याइरहनुपर्ने मात्र हुन्छ ।
यस्ता लिखा र जुका जस्तै स्मार्टफोनहरूले हाम्रो जीवनको स्वरूप नै परिवर्तन गरेका छन् । शहरहरूमा बाटो पत्ता लगाउनदेखि लिएर मधुमेहजस्ता दीर्घकालीन रोग व्यवस्थापन गर्नसम्म स्मार्टफोनहरू उपयोगी छन् । आजकल धेरै मानिस तिनमा आश्रित छन् ।
तर, यति धेरै लाभका बाबजुद हामीमध्ये धेरैजना हाम्रो फोनको बन्दी भएका छौं । घन्टौंसम्म लगातार स्क्रोल गरिरहने बानीका कारण क्लिक र सूचनाहरूको जालमा फसेर हामी वास्तविक समाजबाट टाढिने अवस्थामा पुगेका छौं । यसले गर्दा हामी अनिद्रा, आँखाको रोग, कमजोर सामाजिक सम्बन्ध र केही कुरामा पनि ध्यान एकत्रित गर्न नसक्ने समस्या भोग्न थालेका छौं ।
सुरुमा मानिस र स्मार्टफोनबीचको सम्बन्धले मानिसलाई लाभ दिएको थियो । अर्को मानिससँग संवाद गर्न, नक्सा हेर्न र विश्वभरिका जानकारी लिनका लागि अत्यन्त उपयोगी उपकरणका रूपमा स्मार्टफोन रहेका थिए ।
तर अहिले स्मार्टफोन मानिसका लागि परजीवी बनिसकेको छ । आजका स्मार्टफोनहरू जीवनको अनिवार्य हिस्सा भएका छन् । तर तिनीहरूमा हुने धेरै लोकप्रिय एपहरू अब प्रयोगकर्ताको भन्दा पनि निर्माता कम्पनी र विज्ञापनदाताको हितमा बढी काम गर्छन् ।
यी एपहरू मानिसको व्यवहारलाई असर गर्ने गरी डिजाइन गरिएका छन् । लगातार स्क्रोल गर्न मन लाग्ने, विज्ञापनमा क्लिक गरुँ गरुँ बनाउने र चाहेको कुरा नपाउँदा झन् झन् क्रोधित हुने समस्या स्मार्टफोनहरूले निम्त्याउन थालेका छन् ।
तपाईंले स्मार्टफोनमा स्क्रोल गर्दा देखाउने व्यवहारको डेटा तिनीहरूले संकलन गर्छन् र त्यही जानकारी प्रयोग गरेर तपाईंको ध्यान अझ बढी कब्जा गर्ने प्रयास गर्छन् । तपाईंको स्वास्थ्यका विषयमा सरोकार वा परिवारसँग बिताउने समयको चाहना तपाईंलाई झन् धेरै फोन हेर्न बाध्य पार्नका लागि प्रयोग गर्न सकिन्छ ।
त्यसैले, प्रयोगकर्ता र फोनबीचको सम्बन्धलाई होस्ट र परजीवीबीचको सम्बन्ध जस्तै मान्न सकिन्छ ।
नियन्त्रण कसरी गर्ने ?
समुद्रमा पाइने ब्लू स्ट्रिक क्लीनर रास नामक साना माछाहरूले “सफा गर्ने स्टेसन” बनाउँछन् । त्यस्ता ठाउँमा माछाहरू आउँछन् र उनीहरू साना माछालाई आफ्ना मरेका छाला र जिउमा टाँसिएका परजीवी खान दिन्छन् । यसरी ठूला माछाले जिउमा रहेका परजीवी हटाउँछन् र साना माछाले भोजन पाउँछन् ।
तर कहिलेकाहीँ ती साना माछाहरूले “धोका” दिन्छन् र आफ्नो होस्टलाई टोक्न थाल्छन् । त्यतिखेर त्यो सम्बन्ध परजीवितामा परिणत हुन्छ । यस्तो अवस्था आउँदा ठूला माछाहरूले सानालाई तर्साएर भगाउँछन् वा अर्कोपटक तिनीहरूको सेवा लिन जाँदैनन् । विकासशास्त्रीहरू यसलाई “नियन्त्रण” भन्छन् र पारस्परिक सम्बन्ध सन्तुलित राख्नका लागि यो अत्यावश्यक प्रक्रिया हो ।
विकासशास्त्रका अनुसार, आफूमाथि भइरहेको शोषण पहिचान गर्न सक्ने क्षमता र त्यसविरुद्ध प्रतिक्रिया दिन सक्ने क्षमताले नै (जस्तै, परजीवीबाट सेवा नलिने) ठूला माछाहरूलाई जोगाउँछ ।
तर स्मार्टफोनले मानिसलाई गरिरहेको शोषण हामी सजिलैसँग देख्न सक्दैनौं । ठूला प्रविधि (टेक) कम्पनीहरूले हाम्रो ध्यान तान्ने प्रणालीहरू बनाएका छन् तर त्यसलाई उनीहरू पारदर्शी रूपमा देखाउँदैनन् ।
यसरी आफ्नो विचार र भावनाको शोषण भइरहेको थाहा पाउँदा पनि मानिसले प्रतिक्रियाको रूपमा फोन नचलाउने निर्णय गर्न गाह्रो हुन्छ । हामीमध्ये धेरैजना दैनिक कार्यहरूका लागि फोनमा बढी नै निर्भर छौं । जानकारी र सूचना सम्झनुको सट्टा हामी फोनमा हेरेर काम चलाउँछौं, याद गर्ने झन्झटको साटो तस्बिर खिचेर सम्झन खोज्छौं ।
सरकार र निजी कम्पनीहरूले पनि आफ्नो सेवा मोबाइल एपहरूमा राखेर हाम्रो निर्भरता बढाएका छन् । हामीले बैंक वा नागरिक एप जस्ता सरकारी सेवा प्रयोग गर्न फोन चलाउनेबित्तिकै हामी प्रविधिसँग हारिसकेका हुन्छौं ।
समाधान के हो ?
यो असन्तुलित सम्बन्ध सुधार्न व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन । टेक कम्पनीहरूसँग हामीलाई नियन्त्रणमा राख्ने बलियो शक्ति छ ।
केही महिनाअघि अस्ट्रेलिया सरकारले किशोरहरूलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानून ल्याए जस्तो सामूहिक कदम आवश्यक छन् । यसले परजीवीका रूपमा रहेका एपहरूलाई कानुनी सीमामा बाँध्छ ।
विशाल प्रविधिको दासत्वविरुद्धको युद्ध हामी जित्न चाहन्छौं भने लत जगाउने एप फीचरहरूमा प्रतिबन्ध र व्यक्तिगत डाटाको संकलन बिक्रीमा कडाइ जरुरी छ ।








प्रतिक्रिया