
काठमाडौं । रातोबंगला स्कुलले एकै वर्ष पौने ६८ करोडको कारोबार गरेको छ । स्कुलले सन् २०२४ मा ६७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
स्कुलले सन् २०२३ मा ५५ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा २८ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ३६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
स्कुलको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष १४ प्रतिशतले कारोबार बढेको पाइएको छ । सन् १९९९ मा स्थापना भएको स्कुलले प्राथमिक तहदेखि १० कक्षासम्मको पठनपाठन गर्दै आएको छ । साथै, क्यामब्रिज इन्टरनेशनल एजुकेशनको ए लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
सुरुमा सन् १९९२ मा स्कुलले प्राथमिक तहसम्मको पठपाठन गर्दै आएको थियो । त्यसपछि स्कुलले पहिलो पटक सन् १९९८–१९९९ मा १० कक्षाको पठनपाठनको सुविधा प्रदान गरेको थियो । साथै, सन् २००४ देखि भने ए लेभलको कार्यक्रमको सञ्चालन गर्दै आएको छ ।
स्कुलमा चार जनाको स्वामित्व छ । स्कुलको अध्यक्ष शान्त दिक्षीत हुन् । त्यस्तै, पाटनढोकामा हाल सञ्चालनमा रहेको स्कुल हात्तीवनमा स्थानातरण गर्ने तयारी भएको छ ।
विद्यालय स्थानान्तरण गर्न हात्तीवनमा १ अर्ब २० करोड लगानीमा नयाँ भवन बनाउने तयारी भइरहेको स्कुलले जनाएको छ । सोही भवन निर्माणका लागि स्कुलले कर्जा लिने भएको छ । स्कुलले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।
नयाँ भवन निर्माणका लागि ६७ प्रतिशत बैंकबाट कर्जा लिई लगानी गर्ने भएको छ भने ३३ प्रतिशत स्कुलले लगानी गर्ने भएको छ।
हाल स्कुलमा २ सयभन बढी शिक्षक र एक सयभन्दा बढी अन्य कर्मचारी छन् ।







प्रतिक्रिया