ट्रम्प प्रशासनमा काम गर्दा इलोन मस्कले गुमाए २५ प्रतिशत सम्पत्ति

357
Shares

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र टेस्लाका सीईओ अर्बपति इलोन मस्कबीचको झगडाले अहिले विश्वव्यापी चर्चा बटुलेको छ । त्यसैक्रममा ट्रम्प प्रशासनमा रहँदा र अहिले झगडा गरेर निस्कँदा मस्कले कति सम्पत्ति गुमाउनुपरेको छ भनेर चासो व्यक्त गरिएको छ ।

ब्लूमबर्ग सञ्चारमाध्यममा हालै प्रकाशित खबरअनुसार, अमेरिकी सरकारको खर्चकटौतीका लागि प्रयास गर्दा इलोन मस्कले आफ्‌नो २५ प्रतिशत सम्पत्ति गुमाएका छन् ।

मस्कका कम्पनीहरू स्पेसएक्स, न्युरालिंक र एक्सआईले त यस अवधिमा नयाँ लगानी भित्र्याएको छ तर टेस्लाले धेरै घाटा बेहोर्‍यो ।

ट्रम्पले दोस्रो कार्यकाल आरम्भ गरेदेखि टेस्लाको स्टक ३३ प्रतिशतले घटेको छ । ट्रम्प प्रशासनमा मस्कले बढी नै शक्तिप्रदर्शन गरेपछि टेस्लाको बिक्री नै पनि निकै घटेको छ र मानिसहरूले टेस्लामा क्षति पुर्‍याउन थालेका छन् ।

हुन त मस्क अहिले पनि संसारका सबभन्दा धनी अर्बपति हुन् । मेटाका सीईओ मार्क जकरबर्गभन्दा अघि रहेर उनी शीर्ष स्थानमा छन् ।

गत साता मस्क र ट्रम्पबीचको विवाद चर्किएको थियो । ट्रम्पको विशाल सुन्दर विधेयकलाई मस्कले चर्को विरोध गर्दै ट्रम्पलाई महाभियोग लगाउनुपर्ने समेत भन्न भ्याए ।

अहिले आएर चाहिँ मस्कले आलोचना केही मत्थर बनाएका छन् । उनले उपराष्ट्रपति जेडी भ्यान्सको पोस्टलाई रिपोस्ट गर्दै क्यालिफोर्नियामा भइरहेको दंगा नियन्त्रणका लागि ट्रम्पले चालेको कदमलाई मस्कले समर्थन गरेका थिए ।

उता ट्रम्पले पनि मस्कविरुद्धको आलोचना नरम बनाएका छन् । सोमवार मात्र ह्‌वाइट हाउसमा मस्कका बारेमा सोध्दा ट्रम्पले भने, ‘हामी दुईबीच राम्रो सम्बन्ध छ । म उनको हितको कामना गर्दछु ।’