
काठमाडौं । आर्थिक सुस्तताका कारण सर्वसाधारणको खर्च गर्ने क्षमतामा कमी आउँदा चन्द्रगिरी हिल्सको व्यापारमा उच्च प्रभाव परेको छ । आर्थिक सुस्तताका कारण चन्द्रगिरि हिल्सको व्यापार घटेको कम्पनीले जनाएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६३ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा ९१ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ६६ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २२ करोड २०९ लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार पछिल्लो समय उपत्यकाका नजिकै विभिन्न प्रकारका सुविधासहित होटल उद्योग सञ्चालनमा आउँदा उच्च प्रतिस्पर्धा रहेको छ । उच्च प्रतिस्पर्धा हुँदा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ । त्यससँगै आर्थिक सुस्तताले मानिसको खर्चको क्षमतामा कमी आउँदा व्यापार प्रभाव परेको कम्पनीले रेटिङमा उल्लेख गरेको छ ।
कम्पनीले सन् २०२४ मा एक अर्बको व्यापार गर्दा २३ प्रतिशत कारोबार विदेशी पर्यटकबाट भएको जनाएको छ ।
केबलकारसहित एक सय कोठाको सुविधाको बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको कम्पनीले अन्य विभिन्न एडभेन्चरको पनि सेवा दिँदै आएको छ । आइएमई ग्रुप अर्थात् हेमराज ढकालको १९.२ प्रतिशत र चन्द्रप्रसाद ढकालको १४.६ प्रतिशत स्वामित्व रहेको कम्पनीमा उत्तमकुमार नेपाल, अम्बिकाप्रसाद पौडेल, कल्यान गुरुङ र मिनबहादुर गुरुङसमेतको स्वामित्व छ ।
हेमराज ढकाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १३ करोड ८५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया