
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारको नियमन र सुपरिवेक्षणमा थप चुनौतीहरु थपिएको बताएका छन् ।
आइतबार बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष श्रेष्ठले पुँजी बजारको नियमन र सुपरिवेक्षणमा थप चुनौतीहरू थपिएको बताएका हुन् ।
यसलाई सम्बोधन गर्न संस्थागत सुधारको आवश्यकता रहेको उनले उल्लेख गरे ।
‘नेपालको पुँजी बजारमा अत्यन्तै तीव्र गतिमा विकास भएको छ । तर, बजारको विकासको अनुपातमा धितोपत्र बोर्डको संस्थागत, राजनीतिक मानव संसाधनमा आवश्यक विस्तार हुन नसकेको हो कि भन्ने अनुभव भएको छ,’ उनले भने, ‘पुँजी बजारको नियामक बोर्डलाई प्रभावकारी नियमन र सुपरिवेक्षणको क्षेत्रमा धेरै चुनौतीहरू थपिएको छ।’
पुँजी बजारको तीव्र विकाससँगै बोर्डको संस्थागत संरचना र मानव संसाधनमा सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
‘बोर्डको संरचनामा सुधार गरी, दक्ष र योग्य जनशक्तिको समावेश गर्न आवश्यक छ । यसले पुँजी बजारको नियमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘पुँजी बजारको दिगो विकासका लागि सरकारसँग सहकार्य गर्दै, बोर्डको संरचनामा सुधार गर्न हामी लाग्ने छौं ।’
प्रतिक्रिया