वल्ड दरबार र भोड्का बेच्ने यति डिष्टिलरीले ६ महिनामा गर्‍यो साढे २ अर्बको व्यापार

1.2k
Shares

काठमाडौं । वल्ड दरबार ह्वीस्की र ८८४८ भोड्का बेच्ने यति डिष्टिलरी प्रालिले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ अर्ब ४९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००३ मा मदिरा उत्पादन गर्ने गरी स्थापना भएको कम्पनीले सन् २०१५ सम्ममा ७० यूपी लो इन्ड मदिरा बिक्री व्यापारमा संलग्न थियो । त्यसपछि भने कम्पनीले २० यूपी र ३० यूपी सेग्मेन्टको वल्ड दरबार ह्वीस्की र ८८४८ भोड्का बिक्री वितरणमा संलग्न छ । कम्पनीले सो मदिरा उत्पादन गर्न आवश्यक कच्चा पदार्थ मल्ट स्पिरिट र इएनए युरोपियन वितरकहरुबाट खरिद गरी उत्पादन गर्दै आएको छ ।

नेपाली बजारमा ह्वीस्की र भोड्काको उच्च माग छ । साथै, नेपाली बजारमा ह्वीस्की र भोड्काको सेग्मेन्टमा बादशाह जस्तै रहेको छ । कम्पनीअनुसार सन् २०२३ र सन् २०२४ मा व्यापार गरेकोमा ९२ प्रतिशत हिस्सा यी दुईबाट मात्र भएको उल्लेख गरेको छ ।

रवि केसीको ५० प्रतिशत र अभिषेक श्रेष्ठ र उनका परिवारको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले ब्लेन्डिङ र बोटलिङको कार्य गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दैनिक ९ हजार केस विभिन्न प्रकारका प्रोडक्टको बोटलिङ गर्दै आएको जनाएको छ । कम्पनीको देशभर १ सय ३० वटा वितरक रहेको छ । कम्पनीले विभिन्न ६ देखि ७ वटा ब्रान्डमा ह्वीस्की, भोड्क, जीन र अन्य मदिराको कारोबार गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ५ अर्ब ८५ करोड ७३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८६ करोड ११ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ९९ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ ।