टेक-एन्ड-पेमा मात्र पीपीए गर्ने व्यवस्थाले ऊर्जा उत्पादक भाग्नुपर्ने स्थिति ल्याउछ: अध्यक्ष कार्की

70
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले टेक एन्ड पे मा मात्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणाले ठूलो समस्या ल्याउने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो व्यवस्थाले उर्जा उत्पादकहरु भाग्नुपर्ने स्थिति सिर्जना हुने बताए । ‘हिजो लगानी गर भन्ने, यसमा काम गर भन्ने तर, अहिले किन्दिन भन्ने काम सरकारले गरेको छ । एक ठाउमा होइन, हामीले सरकार,मन्त्री, प्रधानमन्त्री, सेबन सबैसंग भेटेका छौं । तर, हामीलाई सबैतिरबाट रोक्ने काम भएको छ,’ कार्कीले भने, ‘हामी साच्चिकै अप्ठ्यारो स्थितिमा पुगेका छौं । सरकारको यो कदमले हामी भागेर हिंड्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा सार्वजनिक गर्दै रन अफ दि रिभर ( आरओआर) आयोजनाको टेक एन्ड पे मा मात्र विद्युत खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।

यो घोषणाले अबबाट कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले जलविद्युत् आयोजनामा ऋण लगानी नगर्ने भएकाले उत्पादन अनुमतिपत्र प्राप्त, उत्पादन अनुमतिका लागि आवेदन दिएका, सर्वेक्षण अनुमतिपत्र प्राप्त र यसका लागि आवेदन दिएका गरी झण्डै १७ हजार ११७ मेगावाट बराबरका आयोजनाको निर्माण कार्य उच्च जोखिममा परेको कार्कीको भनाइ छ ।

सरकारको यो घोषणाका कारण यी आयोजनाहरुमा लगानी भैसकेको ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने अवस्था सिर्जना भएको उनले बताए । ‘यो मन्त्रालयको एजेन्डा होइन, केही व्यक्तिबाट आएको कुरा हुनसक्छ भन्नु भएको छ । बजेटले आउने वर्षसम्म ४८०० मेगावाट विधुत उत्पादन गर्ने भनेको छ,’ अध्यक्ष कार्कीले भने, ‘तर, सरकारले साथ दिएको छैन । एकातर्फ पुजी छैन भने अर्कोतर्फ ठूलो मात्रामा आइपिओ रोकिएको छ । यस्तो अवस्थामा हामी बजेटको लक्ष्य भेट्न सक्दैनौं ।’