
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचनाका विषयमा छलफल हुने भएको छ । बिहीबार साँझ यी दुई विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिको बैठक बोलाइएको छ ।
धितोपत्र बोर्ड स्रोतका अनुसार आज साँझ बस्ने बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सबारे छलफल गर्ने र नेप्से पुनर्संरचनाका लागि पत्र पठाउने काम हुनेछ ।
‘मन्त्रिपरिषद्ले कार्यान्वयन गर्न भनि बोर्डमा पठाएको प्रतिवेदनलाई कसरी कार्यन्वयन गर्ने भन्ने सन्दर्भमा कार्ययोजना सहितको सुझाव प्राप्त भएको छ । अब सो विषयमा बोर्डमा छलफल हुनेछ,’ स्रोतले भन्यो, ‘यसपछि नेप्से पुनर्संरचनाका लागि पत्र पठाउने विषय पनि समावेश छ।’
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वनको लागि छलफल गर्ने र आवशयक निर्णय गर्ने भन्दै बिहिबार साँझ धितोपत्र बोर्डको सञ्चालक समिति बैठक बस्न लागेको हो ।
५ पुस २०८१ मा नेपाल सरकार मन्त्रिपरिषद्ले दिएको निर्देशन कार्यान्वयन सन्दर्भमा छलफल गर्ने भन्दै बोर्डले बिहिबार साँझको लागि सञ्चालक समिति बैठक आह्वान गरेको थियो ।
मन्त्रिपरिषद्ले ५ पुसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको सन्दर्भमा शिवाकोटीको नेतृत्वको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
शिवाकोटी नेतृत्वको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सँगै नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना पनि सँगसँगै अघि बढाउनुपर्ने निष्कर्ष सहित प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको लागि आवश्यक सुझाव सहित पेश गर्न भन्दै धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डकै सञ्चालक समितिको नेतृत्वमा अर्को समिति बनाएका थिए ।
शिवाकोटीको प्रतिवेदन कार्यन्वयन गर्नको लागि बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोदकुमार भट्टराई नेतृत्वमा कार्ययोजनासहितको सुझाव पेश गर्ने भन्दै समिति गठन गरेका थिए ।
उक्त समितिले १ महिना अघि नै बोर्ड अध्यक्षलाई कार्ययोजना सहितको प्रतिवेदन बुझाएपनि सञ्चालक समितिमा पेश हुन सकेको थिएन । उक्त समितिले नयाँ स्टक एक्सचेञ्जभन्दा पनि नेप्सेको पुनरसंरचनाको सन्दर्भमा कसरी अघि बढ्न भन्ने विषयमा कार्ययोजना पेश गरेको छ ।








प्रतिक्रिया