
भद्रपुर । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजार रुपैयाँले बढेको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।
चालु आवको १० महिनामा दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया