
गण मिलान: वैदिक ज्योतिषको सूक्ष्म विज्ञान:
वैदिक ज्योतिषमा कुण्डली मिलानलाई विवाहको अघिल्लो अनिवार्य प्रक्रिया मानिन्छ। विशेषतः नेपाली, भारतीय समाजमा विवाह गर्नु पूर्व वर–वधूको कुण्डली मिलाएर सम्बन्धको दीर्घकालीन सफलताको आकलन गरिन्छ। कुण्डली मिलाउने क्रममा ‘अष्टकूट मिलान’ भनिने विधिमा आठवटा पक्ष मिलाइन्छ: वर्ण, वश्य, तारा, योनि, गण, ग्रहमैत्री, भकूट र नाडी। यीमध्ये पनि गण मिलान एउटा अत्यन्तै संवेदनशील पक्ष हो जसले भावनात्मक, मानसिक, र व्यवहारिक स्वभावको समन्वय गर्छ।
गण भनेको के हो?
जन्म नक्षत्रको आधारमा व्यक्तिलाई तीनवटा गणमा वर्गीकृत गरिन्छ:
१. देव गण (सज्जन वर्ग)
२. नर गण (मानव वर्ग)
३. राक्षस गण (जोशिला वर्ग)
गणले व्यक्तिको व्यवहार, बोल्ने तरिका, सोच्ने ढंग, सहिष्णुता, रिसको स्तर, सामाजिक प्रवृत्तिलाई जनाउँछ। कुनै पनि सम्बन्ध – चाहे वैवाहिक होस् वा साझेदारी – सफलतापूर्वक सञ्चालनका लागि व्यक्तिहरूको स्वभावमा तालमेल हुनुपर्छ। यही तालमेल गणद्वारा आकलन गर्न सकिन्छ।
तीनवटा गणको स्वभाव
१. देव गण
देव गणमा पर्ने व्यक्ति सामान्यतः भलाद्मी, शान्त, धर्मपरायण, सहिष्णु र सन्तुलित स्वभावका हुन्छन्। यिनीहरू आपसी समझदारीमा विश्वास गर्छन्, सुल्झिएका कुराहरू मन पराउँछन् र रिस कम गर्छन्। अश्लीलता, झगडा, कडापन यिनीहरूको स्वभावसँग मेल खाँदैन।
उदाहरण नक्षत्रहरू: रेवती, श्रवण, पुष्य, हस्त, अनुराधा आदि।
२. नर गण
नर गणका व्यक्तिहरू व्यवहारिक, निर्णयक्षम, संयमित र स्पष्ट सोच भएका हुन्छन्। यिनीहरू कहिलेकाहीँ दबाबमा आएर रुखो बन्छन्, तर मूलतः सन्तुलनमा रहन रुचाउने हुन्छन्। यिनीहरू व्यवहारिकतामा विश्वास राख्छन् र दुवै पक्ष (देव र राक्षस) सँग मिल्न सक्ने क्षमता राख्छन्।
उदाहरण नक्षत्रहरू: उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपद, मृगशिरा आदि।
३. राक्षस गण
राक्षस गणका व्यक्तिहरू तेजस्वी, हाबी, जोशिला र बहसप्रेमी हुन्छन्। उनीहरू आफूलाई सधैँ अगाडि देख्न चाहन्छन्। आत्मविश्वासी र लिडरशिप शैली भएका, जोखिम लिन नडराउने यस्ता मानिसहरू जोशमा कहिलेकाहीँ अरूको भावना बुझ्न नसक्ने हुन्छन्।
उदाहरण नक्षत्रहरू: अश्विनी, भरणी, मघा, चित्रा, आर्द्रा आदि।
विवाहका लागि गण मिल्नु किन आवश्यक?
गण मिलाउने प्रक्रियामा दुई व्यक्तिको स्वभाव मिल्छ कि मिल्दैन भन्ने कुरा हेर्ने गरिन्छ। गण मिल्दा एक–अर्काको भावना बुझ्ने, सम्मान गर्ने, झगडा कम हुने र सम्बन्ध लामो समय टिक्ने सम्भावना धेरै हुन्छ।
गण मिलानमा ६ गुण हुन्छन्।
गण मिल्यो भने ६ गुण पूरा
नमिल्यो भने ० गुण
यो ० गुण अत्यन्तै खराब मानिन्छ।
विशेषत: देव गण र राक्षस गण मिल्न गाह्रो हुन्छ।
यदि यस्ता दुई गणका वर–वधू विवाह गर्छन् भने उनीहरूको स्वभाव एकअर्कासँग ठोक्किने, विचार नमिल्ने, वाणीबाट चोट लाग्ने, सम्बन्ध बिग्रने सम्भावना बढी हुन्छ।
👉 यस्तो अवस्थामा “गण दोष” भनिन्छ, जसका लागि वैदिक उपायहरू (विशेष पूजा, मन्त्र, देवी पूजन, यन्त्र सिद्धि) गरेर प्रभाव कम गर्न सकिन्छ। केही अवस्थामा भृगु सूत्र वा व्यवहारिक कुंडली विश्लेषण मार्फत अपवाद पनि मानिन्छ।
व्यवसायमा गण मिल्नु आवश्यक छ?
यो एकदमै सामान्य प्रश्न हो: विवाह जस्तै, व्यवसायमा पनि गण मिल्नु पर्छ त?
उत्तर छ: व्यवसायमा गण मिल्नु अनिवार्य छैन, तर स्वभावको मिलन भने आवश्यक हुन्छ।
व्यापार साझेदारीमा नाफा–नोक्सान, निर्णय क्षमता, आर्थिक सोच, लगानीको योजना, झगडा समाधान गर्ने तरिका आदि कुराहरू मुख्य हुन्छन्।
यदि दुई जना साझेदार छन् र एकजना धेरै रिसाउने, आफू हावी हुन चाहने (राक्षस गण) र अर्को धेरै शान्त र सहनशील (देव गण) छन् भने सन्तुलन गुम्न सक्छ।
तर यो सबैभन्दा पहिले ग्रह स्थिति, दशम भाव, लाभ भाव, सप्तम भाव, बुध–शुक्रको स्थिति आदिमा भर पर्छ। गण केवल स्वभाव बुझ्ने आधार हो।
उदाहरण:
यदि दुई जना साथी मिलेर व्यापार सुरु गर्न चाहन्छन् भने:
एउटाले सोच्दछ “पैसा पहिले लगानी गरौं, पछि आम्दानी हुन्छ।”
अर्का भन्छन् “हाम्रो योजना स्पष्ट छैन, अहिलेसम्म बजार अध्ययन पनि छैन।”
यदि यी दुईबीच गण नमिलेको छ भने, त्यो विचारमा पनि असर पार्न सक्छ।
उपाय: गण नमिल्दा के गर्ने?
यदि विवाहको लागि गण नमिल्यो भने, तलका उपायहरूबाट दोष कम गर्न सकिन्छ:
१. विशेष गण दोष निवारण पूजा गरिने
२. शिव–पार्वती पूजन गरी वैवाहिक जीवनको रक्षा गर्ने
३. कुण्डलीका अन्य पक्ष (नाडी, भकूट, ग्रह दशा) बलियो भएमा गण दोष क्षमा गरिन्छ
४. समय अनुसार मन्त्र जप, यन्त्र धारण, गहना लगाउने
५. वैवाहिक मनोवैज्ञानिक परामर्श लिने
निष्कर्ष
गण मिलान वैदिक ज्योतिषमा अत्यन्तै सूक्ष्म तर महत्वपूर्ण पक्ष हो। विवाहको दृष्टिले यो स्वभाव, भावना र दीर्घकालीन सामञ्जस्यता सुनिश्चित गर्न प्रयोग गरिन्छ। विवाहमा गण मिल्यो भने जीवनमा शान्ति, सन्तुलन र सुख रहन्छ। गण नमिल्दा उपाय गर्नुपर्छ। तर व्यापार वा व्यावसायिक साझेदारीका लागि गण अनिवार्य छैन, तर सोच, लक्ष्य र व्यवहार मिल्नुपर्छ।
अन्ततः, गण केवल एक संकेत हो – निर्णायक होइन। व्यवहार, परिपक्वता, आपसी समझदारी र ग्रह दशाहरूले ठूलो भूमिका खेल्दछ।
आज मिति: विक्रम संवत् २०८२ साल जेठ १९ गते, सोमबार। अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन २ तारिख। शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलाथ्व। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायणमा रहेका छन्, ऋतु ग्रीष्म चलिरहेको छ। चन्द्रमा सिंह राशिमा भ्रमणरत छन्। नक्षत्र मघा बिहान २:५४ बजेपछि पूर्वाफाल्गुनी लाग्दछ। सप्तमी तिथि राति १२:२७ बजेपछि अष्टमी लाग्नेछ। योग व्याघात दिउँसो १२:४५ बजेसम्म रहनेछ, त्यसपछि हर्षण सुरु हुनेछ। करण गर दिउँसो १२:२१ बजेसम्म, त्यसपछि वणिज र राति १२:२७ पछि भद्रा लाग्नेछ। आज सूर्योदय बिहान ५:१० मा हुनेछ भने सूर्यास्त साँझ ६:५४ मा हुनेछ। दिनमान अर्थात् दिनको लम्बाइ १३ घण्टा ४४ मिनेट रहेको छ।
आजको विशेषता: कुमार यात्रा पर्वको दिन हो। साथै भद्रा काल राति १२:२७ बजेपछि प्रारम्भ हुने भएकाले त्यसपछिका महत्वपूर्ण शुभ कार्यहरू टार्न उचित हुनेछ।
योग अनुसार आजको दिन ‘ध्वांक्ष’ नामक आनन्दादि योगमा परेको छ, जसले कार्यमा केही अनावश्यक व्यग्रता, अवरोध वा द्वन्द्व सिर्जना गर्न सक्छ। अतः धैर्यपूर्वक निर्णय लिने र व्यवहार संयमित राख्नु श्रेयस्कर हुनेछ। धार्मिक दृष्टिले, आज कुमार भगवान् (कार्तिकेय) सम्बन्धित व्रत, यात्रा वा पूजा गर्नु अत्यन्तै पुण्यदायक मानिन्छ।
मेष
डिजिटल मार्केटिङ, क्लाउड सेवा। कृषिसम्बन्धी उद्योग, खाद्य उत्पादन, र आयुर्वेदिक व्यवसायमा लगानी फाइदाजनक देखिन्छ भने रियल स्टेट वा घरजग्गा, स्मार्ट भवन निर्माण, हरित निर्माण कारोबारमा हात हाल्नु उचित हुनेछैन। सेयर बजारमा ऊर्जा, हरित प्रविधि, सौर्य र ब्याट्री प्रविधिसम्बन्धी कम्पनीहरू लाभदायक देखिए पनि बैंकिङ, बीमाका क्षेत्रले हानी गर्छ ।तपाईंका लागि आज दक्षिणपश्चिम दिशा शुभ रहनेछ भने उत्तर-पश्चिम दिशातर्फ यात्रा नगर्नु नै फाइदा हुनेछ। गाढा रातो वा मरून रङको पहिरनले भाग्यशाली बनाउनेछ भने सेतो वा खैरो रंग टार्नु उचित हुनेछ। शुभ अंक ९ ले सकारात्मकता बढाउनेछ भने ४ नम्बर असहजता ल्याउन सक्छ। समयले आफ्नै गतिमा सबै ठीक बनाउनेछ, सही निर्णय लिनु नै बुद्धिमानी हुनेछ। मन स्थिर राख्नुहोस्, सफलता अवश्य प्राप्त हुनेछ।
वृष
ट्राभल र पर्यटन प्रविधि ,सुनचाँदी वा बहुमूल्य धातुमा लगानी फाइदाजनक देखिन्छ। सेयर बजारमा स्वास्थ्य सेवा, फार्मा, वा जैविक उत्पादनका कम्पनीहरू लाभदायक देखिए पनि टेक्नोलोजी र टेलिकम क्षेत्रमा लगानी गर्दा सोचविचार गर्नुपर्छ। प्रेम जीवनमा आशंका बढ्न सक्छ। तपाईंका लागि पश्चिम दिशा शुभ रहनेछ भने पूर्व दिशामा यात्रा नगर्नु राम्रो हुनेछ। हरियो वा गुलाबी रङ भाग्यशाली हुनेछ भने निलो रङ टार्नु उचित हुनेछ। शुभ अंक ६ ले आत्मविश्वास बढाउनेछ भने २ नम्बरले तनाव दिन सक्छ। धैर्य राख्नुहोस्, समय सकारात्मक मोड लिनेछ।
मिथुन
ई-कमर्स, अनलाइन व्यापार, र विज्ञापन क्षेत्रमा लगानी लाभदायक देखिन्छ भने रियल स्टेट र यातायातमा जोखिम रहन सक्छ। सेयर बजारमा सूचना प्रविधिका क्षेत्र नाफा मुखी हुनेछ्न। तपाईंका लागि उत्तर दिशा शुभ हुनेछ भने दक्षिण दिशामा यात्रा नगर्नु राम्रो हुनेछ। पहेँलो वा हल्का हरियो रङ भाग्यशाली हुनेछ भने कालो रङ टार्नु उचित हुनेछ। शुभ अंक ५ लाभदायक हुनेछ भने ८ नम्बरले असहजता ल्याउन सक्छ। योजनाहरूमा ध्यान दिनुहोस्, सफलता हात लाग्नेछ।
कर्कट
होटल, रेस्टुरेन्ट, दूध तथा पानीसम्बन्धी व्यवसायमा लगानी लाभदायक देखिन्छ भने लगानीका लागि आयात-निर्यात वा विदेश व्यापार राम्रो नहोला। सेयर बजारमा औषधि, जलविद्युत्, तथा निर्माण सामग्रीमा लगानी लाभदायक देखिए पनि अटोमोबाइल र बैंकिङ क्षेत्रमा सोचविचार गर्नुपर्छ। शुभ दिशा: उत्तर-पूर्व, अशुभ दिशा: दक्षिण-पश्चिम। शुभ रङ: सेतो वा क्रीम, अशुभ रङ: गाढा नीलो। शुभ अंक: २, अशुभ अंक: ७। नयाँ अवसरहरू प्राप्त हुनेछन्, आत्मबल बढाउनुहोस्।
सिंह
निर्माण व्यवसाय, सरकारी ठेक्का, वा सुनचाँदी कारोबारमा लगानी लाभदायक हुनेछ। सेयर बजारमा धातु, तेल, तथा ऊर्जा क्षेत्र राम्रो देखिए पनि। स्वास्थ्य सेवा (Healthcare) र बायोटेक्नोलोजी क्षेत्रमा भने सतर्क रहनुहोस । शुभ दिशा: पूर्व, अशुभ दिशा: पश्चिम। शुभ रङ: सुन्तला वा रातो, अशुभ रङ: कालो। शुभ अंक: १, अशुभ अंक: ४। आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता मिल्नेछ।
कन्या
आजको दिन सामान्य रहन सक्छ। आर्थिक क्षेत्रमा केही समस्या आए पनि राम्रा योजनाहरू लागू गर्न सकिनेछ। लेखन, अध्यापन, वा स्वास्थ्य सेवासम्बन्धी काम फाइदाजनक देखिन्छ भने ठूला उद्योग वा उत्पादन क्षेत्रमा सोचविचार गरी मात्र लगानी गर्नुहोस्। सेयर बजारमा फार्मा,सौर्य उर्जा , तथा कृषि क्षेत्र लाभदायक देखिए पनि अन्य उर्जा र विदेशी लगानीमा सतर्कता अपनाउनुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण। शुभ रङ: हरियो वा हल्का पहेँलो, अशुभ रङ: नीलो। शुभ अंक: ५, अशुभ अंक: ९। आज धैर्य राख्नुहोस्, समयले राम्रो अवसर ल्याउनेछ।
तुला
कला, संगीत, फेसन, वा सौन्दर्य प्रसाधनमा लगानी लाभदायक देखिन्छ भने भारी उद्योग वा गहना व्यवसायमा सचेत हुनुपर्छ। सेयर बजारमा लक्जरी वस्तु, उपभोक्ता सामान, वा टेक्सटाइल क्षेत्रमा लाभदायक अवसर देखिए पनि रियल स्टेट वा अन्लाइन ब्यापारमा लगानी गर्दा सतर्कता अपनाउनुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर। शुभ रङ: गुलाबी वा सेतो, अशुभ रङ: कालो। शुभ अंक: ६, अशुभ अंक: ३। सम्भावित अवसरहरूलाई समात्नुहोस्, समय अनुकूल रहन्छ।
वृश्चिक
आज केही चुनौतीपूर्ण समय रहन सक्छ, विशेष गरी आर्थिक क्षेत्रमा। आम्दानीमा सामान्य वृद्धि भए पनि ऋण वा अनावश्यक खर्चले दबाब सिर्जना गर्न सक्छ। खनिज, आयुर्वेद, वा अनुसन्धान क्षेत्रमा लगानी फाइदाजनक देखिन्छ भने ठूलो व्यवसायमा लगानी गर्दा सतर्कता आवश्यक छ। सेयर बजारमा जैविक उत्पादन, औषधि, वा रक्षा क्षेत्रमा फाइदा देखिए पनि बैंकिङ वा विदेशी लगानीमा सतर्क रहनुहोस्। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर-पश्चिम। शुभ रङ: गाढा रातो वा मरून, अशुभ रङ: सेतो। शुभ अंक: ९, अशुभ अंक: २। सतर्क भएर निर्णय लिनुहोस्, समय सुधार हुँदै जानेछ।
धनु
आजको दिन नयाँ अवसरहरू लिएर आउनेछ। आर्थिक पक्षमा सुधार हुनेछ, तर खर्चको नियन्त्रण आवश्यक छ। पर्यटन, शिक्षा, वा आध्यात्मिक क्षेत्रमा लगानी राम्रो देखिन्छ भने व्यापारिक साझेदारी गर्दा सतर्क रहनुपर्छ। सेयर बजारमा दूरसञ्चार, सूचना प्रविधि, वा अन्तर्राष्ट्रिय व्यापार लाभदायक देखिए पनि अटोमोबाइल वा भारी उद्योगमा लगानी गर्दा सोचविचार गर्नुपर्छ। प्रेम जीवनमा आत्मीयता बढ्नेछ। शुभ दिशा: उत्तर-पूर्व, अशुभ दिशा: दक्षिण-पश्चिम। शुभ रङ: पहेँलो वा सुन्तला, अशुभ रङ: नीलो।
शुभ अंक: ३, अशुभ अंक: ८। नयाँ अवसरहरू प्राप्त हुनेछन्, सही निर्णय लिनुहोस्।
मकर
आजको दिन धैर्यपूर्वक निर्णय लिनुपर्ने देखिन्छ। आर्थिक मामिलामा स्थिरता देखिए पनि अस्थायी समस्याहरू आउन सक्छन्। रियल स्टेट, निर्माण, वा सरकारी काममा लगानी लाभदायक देखिन्छ भने स्टार्टअप वा नयाँ व्यापार सुरु गर्दा राम्रो योजना बनाउनुपर्छ। सेयर बजारमा धातु, इन्धन, वा लजिस्टिक्स क्षेत्रमा अवसर देखिए पनि नगद कारोवार वा जोखिमपूर्ण लगानीमा सचेत रहनुहोस्। शुभ दिशा: दक्षिण, अशुभ दिशा: उत्तर। शुभ रङ: नीलो वा कालो, अशुभ रङ: रातो। शुभ अंक: ८, अशुभ अंक: ५। सतर्कता अपनाउनुहोस्, सफलता नजिकै छ।
कुम्भ
आजको दिन मिश्रित फल दिनेछ। आर्थिक पक्षमा सुधार देखिए पनि खर्च बढ्ने सम्भावना छ। प्रविधि, अनुसन्धान, वा परामर्श सेवामा लगानी लाभदायक हुनेछ भने व्यवसायिक साझेदारी गर्दा सतर्क रहनुहोस्। सेयर बजारमा प्रविधि, ऊर्जा, वा नयाँ उद्धोग सम्बन्धित कम्पनीहरू राम्रो देखिए पनि अचल सम्पत्ति वा ठूला कर्जामा जोखिम देखिन्छ। सामाजिक सम्बन्धहरूमा सुधार आउनेछ। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण-पूर्व। शुभ रङ: बैजनी वा नीलो, अशुभ रङ: पहेँलो। शुभ अंक: ४, अशुभ अंक: ७। धैर्य र बुद्धिमत्ताका साथ निर्णय लिनुहोस्, सफलता मिल्नेछ।
मीन
आजको दिन भावनात्मक र आर्थिक रूपमा मजबुत बन्ने अवसर ल्याउनेछ। वित्तीय मामिलामा सुधार हुनेछ, तर पारिवारिक दबाब बढ्न सक्छ। जलसम्बन्धी व्यवसाय, आध्यात्मिक सेवा, वा मनोरञ्जन उद्योगमा लगानी लाभदायक देखिन्छ भने ठूला व्यापारिक योजनामा पुनर्विचार गर्नुपर्छ। सेयर बजारमा स्वास्थ्य सेवा, औषधि, वा पर्यटन उद्योगमा अवसर देखिए पनि बैंकिङ वा विदेशी लगानीमा सतर्कता अपनाउनुहोस्। शुभ दिशा: उत्तर-अशुभ दिशा: दक्षिण। शुभ रङ: हल्का नीलो वा हरियो, अशुभ रङ: कालो। शुभ अंक: ७, अशुभ अंक: ६। आत्मविश्वास बढाउनुहोस्, समय सकारात्मक रहनेछ।







प्रतिक्रिया