संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ अनुदान र राजस्व दिने

0
Shares

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ दिने भएको छ । संघले तल्ला तहलाई राजस्व बाँडफाँड र अनुदानस्वरुप यति धेरै रकम उपलब्ध गराउन लागेको हो ।

अर्थ मन्त्री विष्णु प्रसाद पौडेलका अनुसार संघीय सरकारले वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्नेछ । यसैगरी सशर्त अनुदान प्रदेशलाई ३० अर्ब ३४ करोड तथा स्थानीय तहलाई २ खर्ब ११ अर्ब ४६ करोड हस्तान्तरण हुनेछ भने समपुरक अनुदान प्रदेशलाई ३ अर्ब २८ करोड र स्थानीय तहमा १९ अर्ब ६ करोड हस्तान्तरण हुने छ । यता विशेष अनुदानतर्फ प्रदेशले ३ अर्ब २७ करोड र स्थानीय तहले ९ अर्ब ७८ करोड रुपैयाँ हस्तान्तरण हुनेछ ।

यी अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण हुने अर्थमन्त्री पौडेलको भनाइ छ । यसैगरी राजस्व बाँडफाँडबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ । राजस्व बाँडफाँड र अनुदान गरी ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने पौडेलले बताए ।