
विराटनगर । तेस्रो मुलुकसँगको व्यापार हरेक वर्ष घट्दा र भारतबाट चोरी बाटोबाट अवैध आयात हुँदा विराटनगर भन्सारको राजस्व असुली हरेक वर्ष प्रभावित हुँदै आएको छ । यो भन्सार विगत पाँच वर्षदेखि राजस्व असुलीको लक्ष्यमा पुग्न सकेको छैन ।
विराटनगर भन्सारको राजस्व असुली औद्योगिक कच्चा पदार्थको आयातमा टिकेको छ । त्यस बाहेक राजस्व बढी तिर्ने तथा भारत र तेस्रो मुलुकबाट आयात हुने कमर्सियल आइटमसहित लत्ता कपडा, जुत्ता चप्पलको आयात हवात्तै घटेको छ ।
त्यसबाहेक मोटरसाइकल, पेट्रोलियम पदार्थ, एमएस विलेट र कच्चा तेल लगायतका सामानको आयात पनि उल्लेख्य घटेको छ । प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने, ‘यो भन्सारको राजस्व असुली लक्ष्य हरेक महिना लक्ष्यको ६० देखि ६५ प्रतिशत मात्र हुँदै आएको छ । यो नाकाबाट आयात घटनु र चोरी पैठारी बढ्दा राजस्व असुली प्रभावित भएको उनको तर्क छ । यो नाकाबाट तेस्रो मुलुकसँगको व्यापार यस वर्ष २५ प्रतिशतले घटेको छ ।’
पोलिथिन दाना, एलपी ग्यास, एचआर सिट, शुद्ध फलाम र कच्चा तेल लगायतका आयातित वस्तुले भन्सार राजस्व असुली धान्दै आएको छ ।
औद्योगिक क्षेत्रमा नियमित रूपमा अघोषित लोडसेडिङ र आर्थिक मन्दी छ । यसका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योग क्षमताअनुसार नचल्दा कच्चा पदार्थको आयात हवात्तै घटेको छ ।
बजारमा चलपल नहुँदा उत्पादित र आयातित वस्तुको खरिद बिक्रीमा मन्दी छ । ‘यस्तो प्रतिकूल अवस्थामा लक्ष्य अनुसारको भन्सार राजस्व संकलन हुने सवाल नै भएन,’ उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘भन्सार नाका हुँदै आयात भएर राजस्व तिर्दै आएका व्यापारिक वस्तुमा पनि सरकारले कर माथि कर थपेर तस्करीलाई प्रोत्साहन दिएर भन्सार राजस्व असुलीलाई संकटमा पारेको छ ।’
आयात निर्यातको चापले विगतमा गुल्जार हुँदै आएको यो भन्सार पाँच वर्षयता सुनसान बन्दै आएको छ। वर्सेनी आयात घट्दा र तस्करी बढ्दा यो भन्सार पाँच वर्षदेखि राजस्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ४९ अर्ब ६४ करोड राजस्व असुली लक्ष्य राख्दा यो भन्सारले २९ अर्ब ३१ लाख मात्र राजस्व असुली गरेको थियो । यो लक्ष्यको ५९ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७७/७८ मा ४६ अर्ब १४ करोड लक्ष्य राख्दा ४० अर्ब ४१ करोड मात्र असुली भयो । आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ६५ करोड लक्ष्य राख्दा ४० अर्ब ४२ करोड मात्र असुली भयो । त्यसैगरी २०७९/८० मा ६० अर्ब ३५ लाख असुली लक्ष्य राख्दा ३३ अर्ब १३ करोड मात्र असुली हुँदा, आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ८१ करोड लक्ष्य राख्दा ३० अर्ब ३४ करोड असुली भयो ।
चालु वर्ष यो भन्सारको राजस्व असुली ४१ अर्ब ५५ करोड राखिएको छ । तर वैशाखसम्ममा २७ अर्ब ४० करोड मात्र असुली भएको छ । प्रमुख भन्सार अधिकृत श्रेष्ठ भन्छन्, ‘चालु वर्ष पनि लक्ष्य अनुसारको राजस्व असुली हुने स्थिती छैन । लक्ष्यमा पुग्न अब दुई महिनामा १४ अर्ब राजस्व असुली गर्नुपर्छ । भन्सार सुनसान छ, कसरी सम्भव होला र ?’
तेस्रो मुलुकबाट हुने आयात २५ प्रतिशतले घटेको छ । बढी राजस्व तिर्ने कर्मसियल वस्तुको आयात घट्दो छ । श्रेष्ठले भने, ‘दैनिक उपभोग्य वस्तुमा भन्सार महसुल र भ्याट गरेर ४० प्रतिशतसम्म मूल्य फरक हुँदा ती सामानको अत्याधिक तस्करी कायम रहँदा राजस्व असुली लक्ष्यमा पुग्ने स्थिती नै छैन ।’
दैनिक उपभोग्य वस्तुमा कर माथि कर थुपारेर सीमावर्ती बजारको तुलनामा ४० प्रतिशतसम्म मूल्य फरक छ । खुला सीमानाका कारण ती वस्तु एक रुपैयाँको पनि भन्सार नाकाबाट आयात भएको छैन । श्रेष्ठले भने, ‘यथास्थितिमा नभई हचुवाको भरमा राजस्व असुली लक्ष्य तोक्नु र तस्करी बढ्नुले भन्सारको राजस्व असुली प्रभावित भएको हो ।’
लत्ता कपडा र दैनिक उपभोग्य वस्तु भन्सार महसुल तथा भ्याटमा पुनर्विचार नभएसम्म तस्करी रोकिन्न । तस्करी नरोकिएसम्म भन्सारको राजस्व असुली लक्ष्यमा नपुग्ने श्रेष्ठको बुझाइ छ ।
केही समयपहिला गृहमन्त्री रमेश लेखक कोशी प्रदेशको सुरक्षा बैठकलाई सम्बोधन गर्न विराटनगर आउँदा यहाँका उद्योगी व्यवसायीले तस्करीका कारण सीमावर्ती बजारको व्यापार चौपट भएर व्यवसायी पलायनको स्थितीमा रहेको, तस्करीले भन्सारको राजस्व असुली प्रभावित बनेको र सीमा क्षेत्रमा आपराधिक गतिविधि बढेको गुनासो गर्दै तस्करी नियन्त्रणका लागि हारगुहार गरेका थिए ।
त्यसपछि गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि उद्योगी व्यवसायीसँग ६० दिनको म्याद माग्दै सुरक्षा बैठकमा सुरक्षा निकायका सङ्गठ प्रमुख, कोशी प्रदेश र जिल्ला प्रमुखलाई ३० दिनभित्रमा तस्करी नियन्त्रण गरेर सर्वसाधारणलाई अनुभूति दिलाउन निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनपछि कोशीका सीमावर्ती जिल्लाका नाकाबाट घरायशी प्रयोजनका लागि सर्वसाधारणले झोला–पोका ल्याउने दैनिक उपभोग्य वस्तु आयातमा सुरक्षा निकायले कडाइ गरेको छ । सम्बद्ध कारोबारीका अनुसार व्यापारिक कारोबारका लागि हुँदै आएको सङ्गठित रूपको तस्करी भने कायमै छ । सुरक्षाकर्मीले दिनभरि सर्वसाधारणले घरायशी प्रयोजनका लागि ल्याउने सामान नियन्त्रण गर्छ । तर रातभरि व्यापारिक कारोबारका लागि हुने सङ्गठित तस्करी कायमै छ । सम्बद्ध कारोबारीका अनुसार तस्करको ‘क्यारिङ’ रातभरि चल्छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्की यसबेला तस्करी नियन्त्रण हुँदै गएको र प्रदेशमा तस्करी शून्यमा झर्ने दाबी गर्दै आएका छन् ।
भारतसँगको खुला नाकाबाट हुने अवैध व्यापारका कारण विराटनगर भन्सारको राजस्व असुली वर्षौंदेखि प्रभावित बन्दै आएको छ । भन्सार स्रोतका अनुसार मुखले नभई व्यवहारमा तस्करी नियन्त्रण नभएसम्म विराटनगर भन्सारको राजस्व असुली लक्ष्यमा पुग्ने स्थिती छैन ।







प्रतिक्रिया