कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

84
Shares

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिङको जिम्मेवारी एलिट क्यापिटल लिमिटेडले लिएको छ ।

मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच सम्झौता भएको हो । सम्झौताअनुसार एलिट क्यापिटलले कम्पनीको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गर्नेछ ।

सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेको छ, र यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । ६३ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १७ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

सन् २०१८ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्सले भेटेरिनरी औषधिहरूको अनुसन्धान, उत्पादन र वितरण गर्दै आएको छ ।

हालसम्म कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधि उत्पादनका लागि स्वीकृति प्राप्त गरिसकेको छ, जसमा १३ वटा औषधिहरू नेपाली बजारमा बिक्री भइरहेका छन् ।

बाँकी औषधिहरू बिक्रीका लागि प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन्। साथै, कम्पनीले २१ प्रकारका आहारपूरक सप्लिमेन्टहरूको पनि उत्पादन तथा वितरण गरिरहेको छ ।