दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुरको पनि मुद्दा चल्ने, २७ करोड बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरणमा प्रमाण भेटिएन, सीआईबीले बुझायो प्रतिवेदन

1.3k
Shares

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनु नपर्ने राय सहितको अनुसनधान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा पठाएको छ ।

आइतबार बैंकिङ कसुरमा २७ करोड रुपैयाँभन्दा बढीको बिगो माग दाबी गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यायलमा पठाएको हो ।

सीआईबले प्रसाईंबिरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको भए पनि कुनै प्रमाण फेला नपरेपछि मुद्दा नचलाउने निर्णय गरेको हो । तर, प्रसाईंले विभिन्न परियोजनामा लिएको कर्जा सम्झौता विपरित खर्च गरी दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

प्रसाईंका विभिन्न कारोबार र कम्पनीमार्फत भएको कारोबारको समेत अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण भएको प्रमाण नभेटिएपछि बैंकिङ कसुरमा मात्रै मुद्दा चलाउने भएको हो ।

मेडिकल कलेज, क्यान्सर अस्पताल लगायतका परियोजनामा लिएको कर्जा भने कर्जाको प्रयोजन विपरित दुरुपयोग गरेको पाइएको सीआईबीले जनाएको छ । यसरी कर्जाको दुरुपयोग गरेको पाएइपछि बैंकिङ कसुरमा मुद्दा चल्ने भएको हो ।

प्रसाईंले एउटा कर्जाको ब्याज तिर्न अर्को कर्जा प्रयोग गर्ने अभ्यास गरेको समेत पाइएको छ । झापामा निमार्णाधीन होटल, झापाकै बी एण्ड सी मेडिकल कलेज र झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा बैंकहरुले करिब ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । पछिल्लो पटक बैंकहरुले २०८१ असारमा अदालतको आदेशअनुसार नियामकीय व्यवस्था पूरा गरी ब्याज पुँजीकरण गरे पनि त्यसपछि प्रसाईंका ३ वटै परियोजनाको ब्याज भुक्तानी भएको छैन ।

सरकारले बीएण्डसी मेडिकल कलेजलाई मेडिकल कोटा दिएसँगै‍ वैशाखमा पनि उक्त कलेजमा लगानी गर्ने बैंकहरुले केही ब्याज असुल भएको बताएका छन् । यस क्यान्सर अस्पतालको भने ब्याज पुँजीकरणपछि कुनै ब्याज नआएको लगानी गरेका एक बैंककका प्रमुख कार्यकारी अधिकृतले बताए ।

बैंकको स्रोत दुरुपयोग गर्ने र बैंकको ऋण तिनुपर्दैन भन्दै अभियान चलाउने प्रसाईंलाई बैंकको कर्जा दुरुपयोग गरेको देखिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

यसअघि आइतबार मात्र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राजधानीको तीनकुनेमा चैत १५ गते राजावादी समूहद्वारा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ भने थप ११ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरिएको छ ।

दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित राज्यविरुद्धको कसुरमा समेत मुद्दा लगाइएको छ ।