भारतलाई राति भारु ४ मा नेपालले बिजुली बेचिरहेको छ: हितेन्द्रदेव

0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा ४ भारुमा नेपालले विद्युत बिक्री गरिरहेको बताएका छन् ।

आइतवार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए ।

बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको उनको भनाइ छ ।

दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको उनको भनाइ छ।

त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको उनको भनाइ छ । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको उनले जानकारी दिए ।

शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर बिक्री गरेको बताए ।

जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको उनको भनाइ छ । नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि कन्नि नपर्ने र दिउँसो पनि सस्तोमा भए पनि बेच्न सकिने बताए ।

प्रवन्ध निर्देशक शाक्यले भने, ‘अहिले केही दिनदेखि भारतमा बिजुली दिउँसोको समयमा सस्तो भएको छ । यो विभिन्न भारतीय मिडियामा पनि आएको छ । युरोपमा कुनै बेला नेगेटिभ प्राइज हुन्छ भन्थ्यौँ । बिजुली खपत गरेबापत उल्टै पैसा पाउने भन्ने थियो । भारतमा अहिले त्यो करिव करिव शुरु भएको अवस्था छ । एक मेगावाट आवरको करिव ५० पैसा भनेपछि एक युनिटको त एक पैसा भन्दा कममा अहिले दिउँसोको एउटा समय त्यतिसम्म झरेको छ । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राख्यौँ । खर्च गरेनौँ । बेलुका अहिले पिक लोड समयमा ति आयोजनाहरु चलायौँ । पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन । हाम्रो खोलामा पानी प्रशस्त बढेको छ । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेच्दैछौँ । ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ । त्यसको मतलव हामीले सस्तोमा एक डेढ पैसा, परयुनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ । राति पनि दुई, अढाई रुपैयाँ तलमाथि भइरहन्छ । हामीले शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ । राति हामीले १३ सय मेगावाट आवर विक्री गरेका छौँ । विक्री र खरिद युनिट हेर्दा विक्री युनिट कम छ । तर पैसाको हिसावले फाइदा छ । यही क्रम अझै केही दिनसम्म रहन्छ । जबसम्म आफ्नो खोलाको पानी दिउँसोसम्म बढी हुने, सञ्चित गर्न नसकिने गरी हुन्छ, त्यसपछि हामी भारतबाट किन्दैनौँ । तर राति हामी बेच्नसक्छाँै । राउण्ड द क्लर्क जुन १५ देखि शुरु हुन्छ । मल्टि इयर ५ वर्षे जुन छ । त्यसमा एउटा फिक्स दरमा बेच्ने सम्झौताअनुसार बेच्छौँ । बजारको दरमा भर पर्दैन ।’