३ दिनदेखि २७०० पुग्दै फर्कदै नेप्से, आइतबार ८ अंकले घट्यो

84
Shares

काठमाडौं । सेयर बजारमा ८.५७ अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १९.०४ अंकले बढेर २६८८ विन्दुमा कायम भएको थियो ।

त्यसअघि गत साताको बुधबार नेप्से ७.९४ अंकले घटेको थियो भने मंगलबार ४९.०९ अंक र सोमबार १९.३० अंकले बढेको थियो ।
पछिल्लो तीन कारोबार दिन नेप्से लगातार २७०० माथि पुग्दै फर्कदै गरिरहेको छ । आज नेप्से २७०३ विन्दुसम्म पुगेको थियो भने बिहीबार २७०५ विन्दुसम्म पुगेको थियो ।

यस्तै, बुधबार नेप्से २७७१ विन्दुसम्म पुगेपनि कारोबार बन्द हुने समयमा भने २६६९ विन्दुमा सीमित भएको थियो ।

आइतबार नेप्सेमा कुल ७ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा ९ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज अधिकांश समूहको सेयर मूल्य घट्दा पनि लघुवित्त समूहको सेयर मूल्य भने २.३२ प्रतिशतले बढेको छ ।