विद्युत प्राधिकरणका लागि बिग्रेको स्याउझैं बन्यो डेडिकेटेड ट्रंक लाइन

546
Shares

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड ट्रंक लाइन प्राधिकरणका लागि बिग्रिएको स्याउ झैं भएको बताएका छन् । विराटनगरमा एक कार्यक्रममा बोल्दै शाक्यले त्यसबाट निकास पाउन अदालत जान पाउने बाटो खुला गर्नुको विकल्प नभएको बताएका छन् ।

‘डेडिकेटेड ट्रंकलाईन प्राधिकरणका लागि बिग्रिएको स्याउ जस्तै भएको छ । त्यसलाई सफा गर्नुपर्छ,’ बिहीबार मोरङ उद्योग व्यापार संघमा भेला भएका विराटनगरका उद्योगी व्यवसायीलाई शाक्यले भने, ‘यसलाई सफाई गर्न अदालत जान पाउने बाटो खुला गर्नुको विकल्प छैन ।’

प्राधिकरण आफै धामी आफैं झाँक्री नबन्ने भन्दै उनले अदालतले जे आदेश दिन्छ त्यो सबैले मान्नु पर्ने बताए । ‘डेडिकेटेड ट्रंक लाइनले प्राधिकरणलाई नोक्सानी त पुर्‍याएकै छ । अझ मुलुकलाई राम्रो राजश्व तिर्ने र रोजगारी दिने उद्योगलाई बन्धक झैं बनाएको छ,’ शाक्यले थपे, ‘यसबाट निकास पाउन अदालत जाने बाटो खुला गर्नुको विकल्प छैन ।’

हिउँदको सुख्खा याममा विद्युतको माग र आपूर्तिकाबीच गहिरो खाल्डो भएका कारण औद्योगिक क्षेत्रमा साँझपख विद्युत आपूर्ति कटौतीगर्न प्राधिकरण बाध्य भएको स्वीर्कादै शाक्यले यो अवस्था आगामी हिउँदमा पनि कायमै रहने उद्योगी व्यवसायीलाई पूर्वजानकारी दिएर आफ्नो जिम्मेवारीबाट फुत्कने प्रयास गरे ।

विद्युत आफुलाई जतिखेर उपलब्ध हुन्छ त्यती नै खेर वितरण हुँदै आएको छ । शाक्यले उद्योगी व्यवसायी र सञ्चारकर्मीको जिज्ञासालाई मत्थर गर्दै भने, ‘मलाई राती २ बजे विद्युत उपलब्ध हुन्छ अनि म पनि राती २ बजे नै वितरण गर्छु । मलाई १ बजे आपूर्ति भएर २ बजे वितरण गर्ने गरेको छैन ।’
यसअघि उद्योगी व्यवसायी र सञ्चारकर्मीले उनलाई उद्योगलाई राती २ बजे विद्युत आपूर्ति गरेर त्यो उद्योग कसरी चलाउने भन्ने जिज्ञासा राखेका थिए ।

आउँदो हिउँदमा प्राधिकरणले चाहेर पनि माग अनुसारको विद्युत आपूर्ति गर्न नसक्ने शाक्यको भनाई थियो । त्यसका लागि प्राधिकरणसँग आवश्यक तयारी गर्ने समय नै अहिले नभएको बताउँदै उनले भने , ‘अर्को हिउँदका लागि सोलार ब्याट्रीको वैकल्पिक व्यवस्था गरेर हिउँदमा विद्युत आपूर्ति नियमित गर्ने लक्ष्य प्राधिकरणको छ ।’

अहिले उपलब्ध विद्युत वितरणकालागि प्राधिकरणसँग राम्रो बाटो नहुँदा विद्युत सप्लाई अनियमित भएको शाक्यको स्वीकारोक्ति छ । ‘प्राधिकरणका संरचनाका कारण अहिले बत्ती झ्याप झ्याप हुने गरेको हो । यो दुःखद कुरा हो । आफनो संरचनागत भौतिक अवस्थालाई आँखा चिम्लेर प्रगती हुने अवस्था छैन ।,’ प्राधिकरणको संरचनामा सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्दै शाक्यले भने, ‘प्राधिकरणको घाटालाई नाफा छ भन्दै हिँड्दा यो अवस्था आएको हो ।’

कोशीमा सबैभन्दा बढी रोजगारी उपलब्ध गराएर उत्पादित वस्तु सतप्रतिशत निकासी गर्दै आएको सुनसरीको खनार स्थित रिलायन्स स्पीनिङ धागो उद्योगका प्रमुख प्रशासक महेश पोखरेलले उद्योग २४ सै घण्टा चलाउन प्राधिकरणको स्वामित्वमा रहेको मोरङको टंकीसिनवरीस्थित मल्टि फ्यूल डिजल प्लान्ट उद्योगले चलाउन प्राधिकरण समक्ष माग गरेको वर्ष दिन बित्दापनि अनुमति नपाएको प्रसंग शाक्य समक्ष राख्दा उनले डिजल प्लान्ट मल्टिफ्यूल सञ्चालनका लागि सहयोग गर्ने पक्षमा रहेको बताउँदै अन्य उद्योगीलाई पनि यस्तो विकल्प खोज्न आग्रह गरे ।

यसअघि मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, परिसंघका वरिष्ठ उपाध्यक्ष एवम व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योगी जगदिश अग्रवाल लगायतले औधोगिक क्षेत्रमा अनियमित विद्युत आपूर्तिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योग ढाड विनाको मानिस झैं भएको गुनासो गरेका थिए ।

उनीहरुले उद्योगका लागि विद्युत कच्चा पदार्थ हो । कच्चा पदार्थ नै उपलब्ध नभएपछि उद्योग कसरी चल्छ ? भन्दै २४ घण्टाको डिमान्ड शूल्क लिएर ८ घण्टा मात्र विद्युत उपलब्ध गराउँदा अन्याय भएन भन्ने जिज्ञासा राखेका थिए । उद्योगी व्यवसायीले २०७५ सालमा मुलुक लोडसेडिङ मुक्त घोषणा गरेपनि सुनसरी मोरङ औधोगिक क्षेत्रले अहिले सम्म त्यसको अनुभूति गर्न नपाएको दुःखेसो पोख्दै सेडुल मिलाएर विद्युत कटौती गर्न आग्रह पनि गरेका थिए ।

अनियमित विद्युत आपूर्तिले निकासी जन्य उद्योग बढी मारमा परेको उल्लेख गर्दै उद्योगी व्यवसायीले विद्युतमा राजनीति करण भएका कारण उद्योगी व्यवसायी मारमा परेको आरोप पनि लगाएका थिए । हिजो उद्योगी व्यवसायीलाई राज्यले चोर भनेको तर अहिले व्यूरोक्रेसी, नेता र मन्त्रीलाई भ्रष्ट्रचारी भन्ने गरेको उद्योगी व्यवसायीको भनाई थियो ।

विद्युत प्राधिकरणले सुचना विनै सुनसरी मोरङ औधोगिक क्षेत्रमा दैनिक ८ देखि १० घण्टा सम्म विद्युत आपूर्ति बन्द गर्दा औधोगिक उत्पादन चौपट भएको भन्दै विद्युत नियमीत गर्न शाक्य समक्ष आग्रह गरेका थिए ।

विना पूर्वसूचना भइरहेको विद्युत कटौतिले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान हुँदा उत्पादन कटौति गर्न बाध्य हुनुका साथै दैनिक करौडौंको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको उनीहरुको गुनासो थियो ।