गभर्नर नियुक्तीको चर्चासँगै नेप्से ५३ अंकले बढ्यो, २२९ कम्पनीको मूल्य बढ्दा सबै समूहमा चमक

273
Shares

काठमाडौं । गभर्नर नियुक्तीको चर्चाले सेयर बजारमा चमक आएको छ । पछिल्लो केही साता यता संकुचित बनेको सेयर बजार मंगलबार भने ५३ अंक अर्थात् २.०१ प्रतिशतले बढेर २६८१.३६ विन्दुमा पुगेको हो ।

लामो समय किचलोमा परेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समितिको बैठक बोलाएका छन् भने आजलाई नै सरकारको मन्त्रिपरिषदको बैठक आव्हान् भएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्ती गर्ने विषय आएसँगै सेयर बजारमा चमक देखिएको हो ।

मंगलबार कारोबारको सुरुवाती चरणमा स्थिर जस्तै रहेको बजार साढे १२ बजेपछि भने उकालो लाग्न सुरु गरेको थियो । १ बजेर ३९ मिनेटमा २६३४ विन्दुमा रहेको नेप्से त्यसबाट झनै तीव्ररुपमा बढेर २६८१ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १९.३० अंकले बढेर २६२८ विन्दुमा रोकिएको थियो भने त्यसअघिका ६ कारोबार दिन भने लगातार घटेको थियो ।

मंगलबार नेप्सेमा कुल ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोकारमा आएकामध्ये २२९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन विकास बैंक र राप्ती हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

मंगलबार बैंकिङ समूहमा १.९१ प्रतिशत, विकास बैंकमा २.९५ प्रतिशत, फाइनान्स समूहमा २.४४ प्रतिशत, होटल तथा पर्यटन समूहमा ३.४२ प्रतिशत र जलविद्युत् समूहमा २.४५ प्रतिशतको सुधार देखिएको छ ।

यस्तै, लगानी समूहमा २.३३ प्रतिशत, जीवन बिमा समूहमा १.३२ प्रतिशत, उत्पादन समूहमा १.८९ प्रतिशत, लघुवित्त समूहमा १.१३ प्रतिशत, निर्जीवन बिमा समूहमा १.७४ प्रतिशत र व्यापार समूहमा १.४९ प्रतिशतको वृद्धि भएको छ ।

Skip This