भारतको नयाँ नीतिले बंगलादेशको व्यापारमा ठूलो झट्का

658
Shares

काठमाडौं । भारतले तयारी पोशाक (रेडीमेड गार्मेन्ट्स) निर्यातका लागि बंगलादेशसँगको सबै भूमि नाकाहरू बन्द गरेपछि बंगलादेशले भारतबाट कुनै पनि आधिकारिक सूचना नपाएको जानकारी दिएको छ।

बंगलादेशी कूटनीतिक स्रोतले सोमबार यो जानकारी दिएको हो। भारतको विदेश व्यापार महानिर्देशालयले भारतमा बंगलादेशी तयार पोशाकको प्रवेशलाई सबै भूमि नाकाबाट रोक्ने निर्णय गरेको दुई दिनपछि यो प्रतिक्रिया आएको हो। सो निर्णयसँगै उत्तर–पूर्वी भारतका नाकाहरू पनि बंगलादेशबाट निश्चित सामान निर्यातको लागि बन्द गरिएको थियो।

अचानकको निर्णयले व्यापारीहरु समस्यामा
‘हामीलाई भारतले आफ्नो भूमि नाका बन्द गर्न लागेको बारे कुनै पनि पूर्वसूचना दिइएन। यसको परिणामस्वरूप हाम्रो पक्षका थुप्रै व्यापारीहरू सामान्य रूपमा काम गरिरहेका थिए र उनीहरूले नाकातर्फ ट्रकहरू पठाइरहेका थिए। अहिले ती सबै ट्रकहरू सीमामा अड्किएका छन्। निर्दोष व्यापारीहरू पीडित भएका छन्,’ बंगलादेशी स्रोतले भने।

बंगलादेशले भारतको यो कदमलाई ‘संप्रभु निर्णय’ को रूपमा लिएको भए पनि दुवै देशबीच साझा इतिहास रहेको हुँदा भारतबाट पूर्व जानकारीको अपेक्षा गरिएको थियो।

भारतको जवाफी कदम भनिए पनि बंगलादेशको प्रष्टिकरण
भारतीय पक्षले भूमि नाका बन्द गर्नुको कारण बंगलादेशले भारतीय सूती धागो (यार्न) लाई आफ्ना नाकाबाट प्रतिबन्ध लगाएको र भारतीय ट्रकहरूको कठोर जाँच गरेको भन्दै जवाफी कदम भएको जनाएको थियो।

तर बंगलादेशले स्पष्ट पारेको छ कि अप्रिल १३ मा गरिएको ती निर्णयहरू भारतविरुद्ध नभई आन्तरिक भ्रष्टाचार नियन्त्रण गर्नका लागि गरिएको थियो। विशेषगरी, हिली नाकाबाट भारतीय चामलको आपूर्ति रोक्ने निर्णय भारतको व्यापारिक हितलाई क्षति पुर्याउने उद्देश्यले नभएको बताइएको छ।

सार्वजनिक असुविधा र चिन्ता बढ्दै
बंगलादेशी अधिकारीका अनुसार, भारतीय भूमि नाका हुँदै निर्यात रोक्नु ‘अभूतपूर्व’ कदम हो र यसले बंगलादेशी जनमानसमा असुविधा बढाएको छ। भारतको यो निर्णयलाई राजनीतिक उद्देश्यले चालिएको कड्कडिएको कदमको रूपमा समेत हेरिएको छ।

‘भारत र बंगलादेशबीचको व्यापार १० अर्ब डलरभन्दा माथि पुगिसकेको थियो। अब जब हामी राम्रो उपलब्धिको संघारमा थियौं, फेरि पछाडि फर्किएको अनुभव भइरहेको छ,’ बंगलादेशी कूटनीतिक स्रोतले बताए।

भारतको उत्तर–पूर्वी क्षेत्रमा बंगलादेशबाट निर्यात हुने सामानहरू दुवै पक्षको क्षेत्रीय अर्थतन्त्रको लागि लाभदायक रहेको उल्लेख गरिएको छ। तर भारतले भने यो निर्णयबाट बंगलादेशलाई यस्तो सन्देश दिन खोजिएको बताएको छ कि उत्तर–पूर्वी भारत बंगलादेशको ‘बन्धक बजार’ होइन।

हसीना सरकारको पतनपछि द्विपक्षीय सम्बन्ध चिसिँदै
२०२४ अगस्ट ५ मा शेख हसीना सरकार पतन भएपछि भारत–बंगलादेश सम्बन्धमा चिसोपन आएको देखिएको छ।

त्यसपछिका दिनहरूमा भारतले बंगलादेशी नागरिकहरूलाई प्रदान गरिने भिसा कटौती गर्यो। सुरुमा भारतले ढाकास्थित कन्सुलर कर्मचारीहरूको सुरक्षामा चुनौती रहेको भन्दै भिसा रोकेको थियो। हाल दैनिक करिब १,००० भिसा मात्र जारी हुँदै आएको छ, जुन अगस्ट २०२४ अघिको ८,००० दैनिक भिसाको तुलनामा निकै कम हो।

कूटनीतिक स्रोतका अनुसार, भिसा कटौतीका कारण जनस्तरको सम्पर्क पहिले नै घटेको थियो। अब व्यापारिक सम्बन्ध पनि घट्ने भएकाले जनस्तरको सम्पर्क अझै सिमित हुने देखिएको छ।