६ दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार घट्यो


काठमाडौं । छ दिनको लगातारको गिरावटपछि सेयर बजारमा सुधार देखिएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.९९ अंकले बढेर २६३२.०५ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा रोकिएको थियो । यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।

सोमबार नेप्सेमा कुल ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ । यस्तै, दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज सप्तकोशी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ओम मेगाश्री कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, तेह्रथुम पावर कम्पनी र ग्रिन विकास बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

सोमबार होटल तथा पर्यटन समूहमा १.०१ प्रतिशतको संकुचन आउँदा बाँकी सबै समूह हरियाली भएका छन् । आज बैंकिङ समूहको सेयर मूल्य १.२८ प्रतिशत, विकास बैंकको २.०१ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य १.०५ प्रतिशतले बढेको छ ।