
काठमाडौं । सिभिल सहकारीका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो ।
विशेष अदालतको उक्त फैसलाविरुद्ध तामाङले सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने निवेदन दिएका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने ठहर गर्दै कानुनअनुसार अघि बढाउन आदेश दिएको छ ।
त्यसैगरी, संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि तामाङलाई थुनामा राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्चले यथावत् राख्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले तल्लो अदालतको आदेशविरुद्ध तामाङद्वारा गरिएको निवेदनमा कानूनबमोजिम गर्नू भनी आदेश दिँदै उनलाई थुनामै राख्ने व्यवस्था कायम राखेको हो ।
तामाङले गत माघको तेस्रो साता सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनीमाथि सिभिल सहकारीका हजारौं बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ ।
२०८० माघ २१ गते विशेष अदालतले तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा जरिवाना तोकिएको थियो ।

बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख हिनामिना
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष तामाङले करिब १ हजार ५०२ जना बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा ठगेर विदेश भाग्ने अन्तिम तयारीमा रहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७८ असोज १८ गते साँझ पक्राउ गरेको थियो । असोज १८ गते पक्राउ परेका तामाङ विरुद्ध २०७८ मंसिर १७ गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
बचतकर्ता ठगेको भन्दै सरकारी वकिलको कार्यालयले ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तथा बालबालिका, होस ठेगाना नरहने व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्षभन्दा माथिका व्यक्तिलाई ठगी गरेमा हुने थप एक वर्षसम्म कैद सजाय गरी ८ वर्ष कैद सजायको माग गरेको थियो ।
उक्त समयमा विभिन्न १ हजार ५०२ जना व्यक्तिबाट प्राप्त उजुरीका आधारमा ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती समेत माग गरिएको थियो । तर, तामाङले करिब १६ सय भन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बढी बचत अपचलन गरेको आरोप छ ।
सीआईबीले अनुसन्धानको क्रममा तामाङसँग करिब १२ अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको फेला पारेको छ । तत्कालीन समयमा सीआईबीले अनुसन्धान गर्दा तामाङले नियत खराब नराख्नेको भए र बचतकर्ताको रकम फिर्ता गर्न चाहेको हो भने पुग्ने सम्पत्ति रहेको देखाएको थियो ।
तत्कालीन समयमा सीआईबीले अनुसन्धान गर्दा तामाङसँग सिभिल बैंकमा संस्थापक सेयर, अन्य कम्पनीमा पनि सेयर, विभिन्न कम्पनी, सिभिल सहकारीको टेकुको भवन, सीटीसी मल, धापाखेल र गोदावरीमा हाउजिङ, कीर्तिपुरको ट्याङलाफाँटमा १२ रोपनी जग्गामा घर लगायत सम्पत्ति देखिएको थियो ।
साथै उनको श्रीमती सिर्जना शाक्यको नाममा ४५ रोपनी जग्गा समेत देखिएको थियो । उक्त जग्गामा तामाङका साथै अन्य व्यक्तिको पनि लगानी रहेको हुनसक्ने अनुमान पनि थियो । तर तामाङ श्रीमती शाक्यसँग मानो छुट्याएर बसेका थिए ।
बचतकर्ता ठगेर अकुत कमाएका तामाङले पक्राउ परेपछि सरकारी वकिलको कार्यालयमा बयान दिँदै बचतकर्तालाई बचत फिर्ता गर्नु आफ्नो दायित्व नभएको बताएका थिए ।
आफू स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको र त्यसपछि २०७३ सालसम्म संस्थापक सल्लाहकारका रुपमा काम गरेको तथा २०६७ सालदेखि सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ भएकाले आफूले बचतकर्ताको पैसा तिर्न नपर्ने तर्क उनको थियो ।
जेलबाट बाहिर बसेर मुद्दा लड्नका लागि उनले न्यायाधीशलाई घुस दिन खोजेको अडियो सार्वजनिक भयो । उनले न्यायाधीशलाई २ करोड घुस दिन अन्य व्यक्तिलाई प्रयोग गरेकोबारेको अडियो सार्वजनिक भएको थियो ।
उनी जेल नपुग्दै लिएको कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्दा उनको धितो समेत लिलामी हुने अवस्थामा पुग्यो ।
कर्मचारी सञ्चय कोषले तामाङलाई सीटीसी मल धितो राखेर दिएको ऋणको साँवा ब्याज भुक्तानी नगरेपछि धितो लिलामी गर्ने स्थितीमा पुगेको थियो ।
तामाङले तत्कालीन समयमा सिभिल स्टेट्स प्रालिको नाममा कोषबाट ऋण लिएका थिए ।
कोषले २०७९ वैशाख तेस्रो साता सुन्धारास्थित सीटीसी मलको १३२ वटा पसल कवलहरु लिलाम गर्नका लागि सिलबन्दी बोलपत्र आह्वान गरिसकेको थियो ।
त्यति मात्रै होइन तामाङसहित सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको प्रभु बैंकबाट लिएको कर्जा नतिरेको भन्दै बैंकले २०८० असार तेस्रो साता धितो लिलामी गर्यो ।
इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ सञ्चालक रहेको सिभिल फर्निचर एन्ड ट्रेडिङ कम्पनी प्रालिको नाममा बैंकमा धितोमा रहेको हुन्डाइको गाडी तथा महिन्द्रा एन्ड महिन्द्राको गाडी पनि लिलाम गर्यो ।
यस्तै, तामाङले तत्कालीन समयमा सेञ्चुरी बैंकबाट लिएको कर्जा नतिरेको भन्दै प्रभु बैंकले २०८० जेठ पहिलो साता तामाङको हाउजिङ लिलामीमा राख्यो । तामाङले बैंकबाट लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी नगरेको भन्दै बैंकले कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु पनि लिलामीमा राख्यो ।
कोट्सेको सेयरधनी तथा संस्थागत जमानकर्तामा सिभिल होम्स प्रालि पनि रहेको छ । बैंकले काठमाडौंको डाँडापौवा (रामकोट) मा बनेको १९ वटा घर लिलामीको प्रक्रिया अगाडि बढाएको थियो । उक्त घरहरु २ आनादेखि ९ आनासम्म बनेका छन् ।
कम्पनीले बैंकबाट ऋण लिई सवारी साधन खरिद गरेको थियो । खरिद गरेको सवारी साधन तत्कालीन सिभिल बैंकको नाममा ल्याएर इच्छाराजकै कम्पनी सदस्यहरुले चलाइरहेका थिए । सोही सवारी साधन पनि बैंकले बुझाउन लगायो ।
बैंकको नाममा रहेको टाटा नेक्सन योद्धा, ब्याकहो लोडर, हुन्डाइ १२० एक्टिभ, र महिन्द्रा एण्ड महिन्द्राको गाडी फिर्ता बुझाउन प्रभु बैंकले भनेको थियो । सो सवारी साधनहरु विभिन्न कम्पनीको नाममा खरिद गरिएका थिए । टाटा नेक्सन र जेसीबी ब्याकहो लोडर कोट्से हाउजिङको नाममा खरिद भएको थियो भने हुन्डाइ १२० एक्टिभ महिन्द्राको गाडी सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनीको नाममा खरिद गरिएको थियो ।







प्रतिक्रिया