धुलिखेलमा पोलमा करेन्ट लाग्दा मृत्यु भएका उपेशको परिवारलाई १५ लाख र जागिर दिने सहमति

4.9k
Shares

धुलिखेल । नेपाल विद्युत प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रअन्तर्गत धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको हाइटेन्सन लाइनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सर्लाहीका उपेश परियारका परिवारलाई नगद राहत र रोजगारी दिने सहमति भएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २८ वर्षीय परियारको शनिबार ११ हजार भोल्टको लाइन भएको पोलमा तार जोड्ने क्रममा अकस्मात करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । उनलाई विद्युत प्राधिकरणले ठेक्कामार्फत काममा लगाएको थियो । प्राधिकरणको लापरवाहीले पूर्वसूचना बिना लाइन जोड्दा दुर्घटना भएको आरोप लागेको छ । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उपेशको मृत्युका विषयमा आइतबार प्रतिनिधि सभामा सांसदहरुले प्रश्न उठाएका थिए । उक्त घटना प्राधिकरणको लापरवाहीले भएकोले यो दुर्घटना भन्दा पनि हत्या भएको सांसदहरुको भनाइ थियो ।

यसैबीच, आइतबार पीडित परिवार, नेपाल विद्युत प्राधिकरण, ठेकेदार कम्पनी र स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार पीडित परिवारलाई ठेकेदार कम्पनी सुदीपा निर्माण सेवाले १० लाख र प्राधिकरणबाट न्यूनतम ५ लाख देखि १० लाखसम्म राहतस्वरूप प्रदान गरिनेछ ।

साथै, मृतक परियारका परिवारका एक सदस्यलाई घर पायक पर्ने स्थानमा प्राधिकरणले रोजगारी दिने सहमति पनि भएको छ । मृतककी श्रीमती रश्मिला परियार, ठेकेदार कम्पनी सुदीपा निर्माण सेवाका प्रोप्राइटर दीपकप्रसाद धिताल र विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रका कार्यालय प्रमुख अमृतबाबु पराजुलीबीच यस्तो सहमति भएको हो ।

केही दिनअघि घरको छानो उड्यो, पछि जीवन

उपेशको परिवार पहिलेदेखि नै आर्थिक कठिनाइमा थियो । केही हप्ता अघि आएको हावाहुरीले घारीबथानस्थित गोपीचोकमा रहेको उनको घरको छानो उडाएको थियो, जुन हालसम्म पनि नजिकैको बारीमा अलपत्र अवस्थामा छ। छानो हाल्न आर्थिक सामर्थ्य नपुगेपछि गाउँलेहरू चन्दा संकलन गरी सहयोग गर्ने तयारीमा थिए । त्यहीबीच उपेशको मृत्युको खबरले गाउँ स्तब्ध भएको छ।

शनिबार बिहान मात्रै मृतककी श्रीमती रश्मिलालाई राहतका लागि निवेदन लिएर आउन वडाले भनेको थियो तर उनीहरुको परिवारमा बज्रपात परेको छ ।

उपेशको परिवारमा बुबा, आमा, श्रीमती र दुई साना बालबच्चा छन् ।