
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सामाजिक सञ्जालमार्फत प्रशंसा गरेका छन् ।
शाक्यको कार्यकालमा लोडसेडिङ बढेको भन्दै आलोचना भइरहेका बेला, रिमालले फेसबुकमा एक स्टाटस लेख्दै शाक्यको कार्यकुशलता र इमान्दारीताको प्रशंसा गरे ।
‘तपाईं नेपाल विद्युत प्राधिकरणका निर्देशक हुनुहुन्छ। तपाईं आफ्नो काममा सक्षम र इमान्दार हुनुहुन् छ। प्राधिकरणलाई प्रगतिको दिशामा लैजान तपाईंको प्रतिबद्धता देखिन्छ,’ रिमालले लेखेका छन्।
तर, बत्ती बलिरहेको अवस्थामा पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ निर्माण भइरहेकोप्रति रिमालले सावधानी अपनाउन शाक्यलाई सुझाव दिएका छन् ।
‘यो त्यस्तो समाज हो, जहाँ बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याउनेलाई देवता बनाइन्छ। तर, त्यस देवत्वकरणको पर्दाभित्र लुकेको यथार्थ सामाजिक सञ्जालमा कथा निर्माण गरिरहेका व्यवसायीलाई थाहा हुन्छ,’ रिमालले लेखेका छन्, ‘यिनीहरू कामको परिणाम होइन, भ्रमको खेती गर्दै आफ्नो स्वार्थ साध्न लागेका छन् ।’
रिमालले समाजमा सेवा दिनेहरू भन्दा पनि कथा निर्माण गर्नेहरू बढी चर्चामा रहेको उल्लेख गर्दै भनेका छन्, ‘अहिलेको समय कथा बनाउनेको हो। तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो सामाजिक सञ्जालमा देखिँदैन, किनभने त्यो ‘फ्रेम’ को हिस्सा होइन ।’
यस्तो छ रिमालको स्टाटस
श्री हितेन्द्र शाक्यजी !
तपाईं नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ।
तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।
अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।
त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।
कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।








प्रतिक्रिया