
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसानहरू अकबरे (डल्ले) खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । अन्य परम्परागत बालीको तुलनामा उच्च आम्दानी हुने देखिएपछि यहाँको खेती प्रणालीमा उल्लेख्य परिवर्तन आएको हो ।
गाउँपालिकाका अनुसार करिब ५०० हेक्टर क्षेत्रमा अकबरे खुर्सानी खेती विस्तार गरिएको छ । कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईका अनुसार, हाल करिब ९०० किसान व्यावसायिक रूपमा खुर्सानीखेतीमा संलग्न छन् । ‘गएको वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि किसानहरू अझ उत्साहित बनेका छन्,’ उनले भने, ‘यसपटक आम्दानी ३० देखि ३५ करोड रुपैयाँसम्म पुग्ने लक्ष्य छ ।’
गएको वर्ष मात्रै किसानहरूले खुर्सानी बिक्रीबाट १८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए । मूल्य आकर्षक भएपछि यो वर्ष खेतीको क्षेत्रफल र किसान संख्या दुबैमा वृद्धि भएको प्राविधिकहरूको भनाइ छ ।
गाउँपालिकाले खेतीमा प्राविधिक सहयोगसहित विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार गाउँपालिकाले किसानलाई मल, मल्चिङ प्लास्टिक र अन्य सामग्री वितरण गरेर खेतीमा सहजता ल्याएको छ । ‘अकबरे खुर्सानी अहिले किसानको प्रमुख आय स्रोत बनेको छ,’ भट्टराईले भने, ‘हामी आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा समेत काम गर्दैछौं ।’
कृषक ध्रुव राईले यसवर्ष २० रोपनीमा खुर्सानी खेती गरेका छन् । उनले गत वर्ष १२ रोपनीबाट ५ लाख रुपैयाँ आम्दानी गरेको बताउँदै यस वर्ष ८ देखि १० लाख आम्दानीको लक्ष्य रहेको बताए । उनका अनुसार उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, काठमाडौँजस्ता शहरमा आपूर्ति हुने गरेको छ, र अधिकांश बाली ठेकेदारले बगानबाटै खरिद गर्छन् ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले खुर्सानीखेतीलाई व्यवस्थित गर्न पकेट क्षेत्र निर्धारण गरिएको जानकारी दिइन् । ‘हामीले पकेट क्षेत्र तोकेर खेतीलाई प्रवर्द्धन गरिरहेका छौं,’ उनले भनिन्, ‘गाउँपालिकाले गरेको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको छ ।’
गाउँपालिकाले कृषिमा आत्मनिर्भरता ल्याउने उद्देश्यसहित कृषि एम्बुलेन्ससम्म खरिद गरेर उपजको बजारीकरणमा सक्रियता देखाएको छ । अध्यक्ष किरण राईका अनुसार, यसवर्ष मात्रै ७५० किसानलाई ७० लाख रुपैयाँभन्दा बढीको कृषि सामग्री वितरण गरिएको छ ।
‘हामी कृषिमा दीर्घकालीन सोचका साथ लगानी गरिरहेका छौं,’ अध्यक्ष राईले भने, ‘खुर्सानीखेतीले करोडौँ आम्दानी गर्न सक्ने सम्भावना देखिएको छ ।’
हाल गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नं ३ च्याङग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा व्यावसायिक खुर्सानीखेती भइरहेको छ । त्यस्तै, वडा नं १ श्यामशिलाको तल्लो भू–भागमा आलु, काउली र बन्दाकोबी खेतीको पकेट क्षेत्र विकास गरिने र माथिल्लो भागमा किवीखेती प्रवर्द्धन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया