
विराटनगर । विद्युत प्राधिकरणले बिनासूचना सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति बन्द गर्दा उद्योगीहरु समस्यामा परेका छन् । अघोषित लोडसेडिङ हुँदा औद्योगिक उत्पादन चौपट भएको भन्दै उद्योग संगठन मोरङले विद्युत नियमित गर्न प्राधिकरण समक्ष आग्रह गरेको छ ।
पूर्वसूचना जारी नगरी भइरहेको विद्युत कटौतीले उद्योग व्यवसायको नियमित सञ्चालनमा व्यवधान हुँदा उत्पादन कटौती गर्न बाध्य हुनुका साथै दैनिक करोडौको आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको उद्योगीहरुको भनाइ छ ।
उद्योगीहरुको साझा संस्था उद्योग संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरेको छ।
हरेक वर्ष सुक्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुँदै आएको तथ्य र तथ्यांकसहित संगठनले बारम्बार ध्यानाकर्षण गराउँदा समेत दीर्घकालीन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दु:ख व्यक्त गरेको छ ।
उद्योग व्यवसायको समस्यालाई गम्भीरतापूर्वक नलिने प्रवृतिले प्राधिकरण निजी क्षेत्रको प्रताडनाबाट संवेदनशील नभएको संगठनको ठम्याइ छ ।
प्राधिकरणको नयाँ नेतृत्व विद्युतको नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा लिए पनि त्यसतर्फ खासै चासो नदेखाइ नाफा र नोक्सानीमा केन्द्रित हुनाले उद्योग व्यवसाय थप प्रताडित हुन पुगेको संगठनका अध्यक्ष राकेश सुरानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सुक्खायाममा एकातर्फ विद्युत महशुल बढी लिने र अर्कातर्फ विद्युत निरन्तर आपूर्ति समेत नगरिदिनाले उद्योग व्यवसाय दाहोरो मारमा परेको उनीहरुको भनाइ छ ।
उद्योग व्यवसाय क्षेत्रले सुक्खायाममा निरन्तर विद्युत आपूर्तिको अभावमा व्यर्होनु परेको कठिनाइ र यसबाट समग्र औद्योगिक क्षेत्रको मूल्य श्रृंखलामा परेको नकारात्मक प्रभावलाई गम्भीरतापूर्वक लिई विद्युत आपूर्तिको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न साथै नियमित आपूर्तिको व्यवस्था गर्न प्राधिकरण समक्ष संगठनले माग गरेको छ ।
प्रतिक्रिया