
विराटनगर । गृहमन्त्री रमेश लेखकले दैनिक उपभोग्य वस्तुमा अत्यधिक भन्सार महसुल भएका कारण तस्करी बढेको औद्योगिक नगरका उद्योगी व्यवसायीसमक्ष स्वीकार गरेका छन् ।
तस्करी बढ्दा सस्तो मूल्यमा सामान किन्न उपभोक्ता सीमापारिका बजार पुग्ने प्रवृत्तिले सीमावर्ती बजार प्रभावित भएको स्वीकार्दै गृहमन्त्री लेखकले ६० दिनभित्र तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता विराटनगरमा उद्योगी व्यवसायीसँग गरेका छन्।
सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका विषयमा मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको संवाद कार्यक्रममा गृहमन्त्री लेखकले अबको ६० दिनभित्र तस्करी रोकिएको अनुभूति गराउने दाबी गरे।
असार ३० गतेसम्मको समय दिनुस् भन्दै गृहमन्त्री लेखकले उद्योगी व्यवसायीलाई आश्वस्त पार्दै भने, ‘त्यस बेलासम्म तस्करी रोकिएको अनुभूति नभए सीमा क्षेत्रसँग जोडिएका सम्बन्धित जिल्लाका सुरक्षा निकाय प्रमुख कारबाहीमा पर्छन् ।’
बुधबार (आज) प्रदेशको सुरक्षा बैठक बस्दैछ । उक्त बैठकमा चारवटै सुरक्षा निकायका संगठन प्रमुखसहित १४ वटै जिल्लाका सुरक्षा अधिकारी सहभागी हुँदैछन्। गृहमन्त्री लेखकले भने, ‘६० दिनभित्र तस्करी नियन्त्रणका लागि स्पष्ट निर्देशन दिनेछु । तोकिएको समयसम्ममा तस्करी नियन्त्रणको अनुभूति नभए कारबाही गर्नेछु ।’
सीमा क्षेत्रमा यहीँका व्यापारीले तस्करी गर्ने भन्दै सतर्क रहन उनले आग्रह गरे ।
‘सीमा क्षेत्रमा तस्करी गर्न चन्द्रमा र दिल्लीबाट तस्कर आउँदैनन्, यहींका व्यक्तिले तस्करी गर्ने हुन्,’ लेखकले भने, ‘यहीँका व्यापारी नै तस्करी गर्दैछन् । उद्योगी र व्यापारीकै गोदाममा तस्करीका सामान थुप्रिन्छन् । तपाईंहरू पनि सतर्क रहनु होला। अबको ६० दिनभित्रमा तस्करी नियन्त्रण हुन्छ । त्यसबेला नियन्त्रण भएको अनुभूति नभए मलाई फेरि भेट्नुस् ।’
राजस्व करका कारण तस्करी बढेको स्वीकार गर्दै उनले तस्करीले क्रस–कन्ट्रीमा अपराध बढ्दो रहेको बताए ।
दैनिक उपभोग्य र अत्यावश्यक वस्तुमा कर अत्यधिक भएका कारण तस्करी बढेको भन्दै उनले त्यस्ता वस्तुमा भन्सार महसुल परिमार्जनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलाई भेट्ने, मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रयास गर्ने उनले उद्योगी व्यवसायीलाई आश्वासन दिएका थिए।
त्यसअघि मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, संघका पूर्वअध्यक्ष महेश जाजु, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष विकास वेगवानी, कपडा व्यवसायी संघ विराटनगरका उपाध्यक्ष नन्दकुमार जाजु लगायतले दैनिक उपभोग्य वस्तु, लत्ता–कपडा र भान्साका सामानमा अत्यधिक भन्सार महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) का कारण तस्करी बढ्दा सीमावर्ती बजार चौपट भएको गुनासो गरेका थिए।
‘तस्करी रोकी दिनु पर्यो गृहमन्त्रीज्यू,’ उद्योगी व्यवसायीको सामूहिक माग थियो।
सीमा क्षेत्रबाट तस्करी बढ्दा अपराध पनि बढेको, सुरक्षामा समेत चुनौती थपिएको उद्योगी व्यवसायीको गुनासो छ । दैनिक उपभोग्य वस्तु र लागुऔषधको अत्यधिक तस्करी भइरहेको, जसले व्यवसायिक र मानवीय असुरक्षा पनि बढाएको भन्दै उनीहरूले सुन लगायतका पसलमा सुरक्षा चुनौती बढेको कारण हतियारसहितका सुरक्षा गार्ड राख्न पाउनुपर्ने माग पनि गरेका थिए।
‘काठमाण्डौंले माग गर्यो भने सीमा नाकाबाट हात्ती पनि तस्करी गरेर पुर्याउने अवस्था छ,’ भन्दै उद्योगी व्यवसायीले सरकारकै नीतिका कारण तस्करी बढेको र राज्यले वार्षिक खर्बौं राजस्व गुमाइरहँदा पनि सरकारी संयन्त्र मुकदर्शक बनेको टिप्पणी गरे ।
व्यवसायीहरूले प्रहरी र सुरक्षा निकायकै संरक्षणमा तस्करी मौलाएको आरोप लगाए।
चिनी, भान्साका सामान, सूती कपडा लगायत दैनिक उपभोग्य र अत्यावश्यक वस्तुमा चर्को भन्सार महसुल र भ्याट लगाइएको हुँदा तस्करी बढेको, ती वस्तुमा महसुल पुनर्विचार गर्न सम्बन्धित निकायमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो व्यक्त गरेका थिए ।
त्यसैगरी तस्करी र लागुऔषधकै कारण सर्वत्र असुरक्षा बढेको, ट्राफिक प्रहरीले दिएको हैरानीका कारण भारतीय पर्यटकले सास्ती भोगिरहेकाले कोशी प्रदेशको पर्यटन व्यवसायसमेत प्रभावित भएको भन्ने गुनासो पनि गृहमन्त्रीसमक्ष राखिएको थियो।







प्रतिक्रिया