
काठमाडौं । उच्च अदालत पाटनले डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का विवादमा सक्कल फाइल झिकाएको छ ।
न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको इजलासले ठेक्का सम्बन्धी बोलपत्र मूल्यांकन सम्बन्धी सक्कल फाइल अदालतमा पेश गर्न आदेश दिएको हो । मंगलबार जारी आदेशअनुसार उक्त फाइल आगामी शुक्रबार पेसीको दिन देखाइ फिर्ता लैजाने गरी पेस गर्न भनिएको छ । अर्को पेसी जेठ २ गतेका लागि तोकिएको छ ।
सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले ठेक्का मूल्यांकनमा त्रुटी भएको दाबी गर्दै वैशाख २२ मा रिट दायर गरेका थिए। न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले वैशाख २३ मा कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो।
रिट निवेदकको दाबीअनुसार जगदुल्ला कम्पनीले उनीहरूको प्राविधिक प्रस्ताव अयोग्य ठहर गर्नु सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६१ र ६२ विपरित छ । साथै, प्राविधिक मूल्यांकनकै क्रममा आर्थिक प्रस्तावका विवरण सार्वजनिक हुनुले सम्पूर्ण प्रक्रिया औचित्यहीन भएको भन्दै त्यसलाई बदर गर्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।
ठेक्काको प्रतिस्पर्धामा सामेल कम्पनीहरूमध्ये जियाङ्सी कन्स्ट्रक्सन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीले १३ अर्ब ७३ करोडमा प्रस्ताव दिएको थियो भने सिनो हाइड्रो कर्पोरेसनले १५ अर्ब ७ करोडको कबोल गरेको थियो। जगदुल्ला कम्पनीले सबैभन्दा कम रकम कबोल गर्ने जियाङ्सी–एएनके जेभीलाई ठेक्का दिने तयारी गरेको छ ।
यसअघि माघ ६ मा दोस्रोपटक ठेक्का आह्वान गरिएको थियो । पहिलोपटक जेठ २० मा आह्वान गरिएका ठेक्कामा सहभागी सातै कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत भएपछि पुस २२ मा प्रक्रिया रद्द गरिएको थियो ।
यो आयोजनाको फाइनान्सियल क्लोजर भएको थियो । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।
यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो । सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।
आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।








प्रतिक्रिया