अपर तामाकोशीको घाटा १२ अर्ब पुग्यो

462
Shares

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नोक्सानी ८ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ थियो । वित्तीय विवरणअनुसार यस वर्षको चैतसम्मको कम्पनीको सेयर प्रिमियम रकम ९१ करोड ३७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा पनि कम्पनीको सेयर प्रिमियम ९१ करोड ३७ लाख रुपैयाँ नै थियो ।

गत आवको चैत मसान्तसम्ममा १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको चैत मसान्तमा आईपुग्दा २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटामा गएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले २०८१ असोज १२ मा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थलमा आएको पहिरोको कारण विद्युत उत्पादन ८८ दिनसम्म पुर्णरुपमा बन्द हुँदा आय घट्न गएको जनाएको छ ।

उक्त ८८ दिनको अवधिको विद्युत विक्री आय प्राप्त नभएकोले गत सालको यसै अवधिको तुलनामा विद्युत विक्री आय घट्न गएको तथ्यांक कम्पनीको वित्तीय विवरणमा प्रकाशित छ । यस अवधिको आय क्षतिको बिमा दाबी गरिएको र बिमा दाबी बापतको रकम प्राप्त हुन बाँकी रहेको कम्पनीले उल्लेख गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीको चालु आवको चैत अन्त्यसम्मको प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँले ऋणात्मक छ । गत आवको सोही अवधिमा भने कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक थियो । चालु आवको तेस्रो त्रैमासिकको अन्त्यसम्मको कम्पनीको प्रतिसेयर नेटवर्थ ४६.७० रुपैयाँ छ ।