
काठमाडौं । औषधी तथा उपभोक्ता सामग्रीको आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको लिआना ट्रेड कन्सर्नले एकै वर्ष २ अर्ब २० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब २० करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७६ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ५९ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको कारोबार हेर्दा हरेक वर्ष बढ्दै गएको पाइन्छ ।
कम्पनीअनुसार पछिल्लो ३ वर्षदेखि व्यापार निरन्तर ११ प्रतिशतले बढेको जनाएको छ ।
सन् १९९४ मा स्थापना भएको कम्पनीले देशभर २५० भन्दा बढी प्रकारका औषधी बिक्री वितरण गर्दै आएको छ । यसले हृदयघात, न्युरोलोजिकल, क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको उपचारका लागि औषधीहरू बिक्री र वितरण गर्छ ।
कम्पनीले सन् २०२४ मा २ अर्ब बढीको व्यापार गर्दा ३.२० प्रतिशत नाफा कमाएको छ ।
कम्पनीमा भुवन राजभण्डारीको ३० प्रतिशत, राजेन्द्र अमात्यको ३० प्रतिशत, मोना मास्केको २० प्रतिशत र राजकिशोर प्रसाद कल्वारको २० प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५३ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि १८ करोड ३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया