
काठमाडौं । दोलखाको विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।
एनएमबि बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिबीच आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।
लाप्चे तामाकोशी जलविद्युत आयोजनाको करिब लागत ७ अर्ब रहने जानकारी गराइएको छ । उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ५ अर्ब २५ करोड रहनेछ ।
साथै एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ । २ मेगावाट क्षमता रहेको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंकले ३४ करोड ऋण लगानी गर्ने भएको छ ।
एनएमबि बैंकका चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग दिनेश दुलाल तथा डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए ।
साथै मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।










प्रतिक्रिया