शुभश्री अग्नि सिमेन्टको व्यापार ३७%ले घट्यो, डेढ अर्बको मात्रै कारोबार

147
Shares

काठमाडौं । आर्थिक मन्दीका कारण विकास निर्माण सुस्त हुँदा शुभश्री अग्नि सिमेन्टको व्यापार ३७ प्रतिशतले घटेको छ । बजारमा सिमेन्टको मागमा कमी आउँदा एकै वर्ष कम्पनीको व्यापारमा उच्च गिरावट आएको हो ।

सन् २०२३ मा २ अर्ब ५५ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले यसक्रममा ८८ करोड रुपैयाँ सिमेन्ट र ६५ करोड ८० लाख रुपैयाँको क्लिङ्कर बिक्री गरेको छ।

कम्पनीअनुसार सन् २०२४ मा क्लिङ्करको व्यापारमा कमी आएको छ । सन् २०२३ मा १ हजार ८१ मेट्रिक टन बिक्री गरेकोमा सन् २०२४ मा ५७ हजार ३०७ मेट्रिक टन क्लिङ्कर मात्रै बिक्री भएको कम्पनीले जनाएको छ ।

सिमेन्टको मागमा कमी आए पनि मूल्य भने बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा पीपीसी सिमेन्ट प्रतिबोरा ३ सय १७ रुपैयाँमा बिक्री गरेकोमा सन् २०२४ मा ३ सय ९८ पुगेको जनाएको छ । साथै ओपीसी सिमेन्टको मूल्य पनि बढेको पाइएको छ । कम्पनीले सन् २०२३ मा प्रतिबोरा ४ सय ९१ रुपैयाँमा बिक्री गरेकोमा सन् २०२४ मा ५ सय ८ रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

कम्पनीको व्यापारमा कमी आएसँगै नाफामा पनि कमी आएको छ । सन् २०२३ मा ५७ करोड १० लाख (ब्याज, भाडा भुक्तानी, मूल्यह्रास र करको अघिको मुनाफा) लाख रुपैयाँ नाफा कमाएको कम्पनीले सन् २०२४ मा ५० करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब १६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१३ मा स्थापना भएको कम्पनीले प्राथमिक सेयर जारी गर्ने भन्दै सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो ।

दैनिक ७ सय मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता भएको कम्पनीले दैनिक १२ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले कोइला, लाइमस्टोन, जिपसम, क्ले, आइरन ओर र जिपसमलगायत अन्य विभिन्न कच्चा पदार्थ आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीमा अग्नि सिमेन्ट उद्योगको र सिमेन्ट उद्योगमा संलग्न व्यक्तिहरुको लगानी छ । कम्पनीको अध्यक्ष कृष्णप्रसाद पोख्रेल हुन्।