डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद: पुनरावदेनमा आउन उद्योगीलाई प्राधिकरणको आग्रह

77
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको २१ वैशाखमा बसेको बैठकको निर्णयअनुसार, आज (शुक्रबार) प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै सम्बन्धित ग्राहकहरूलाई पुनरावलोकनका लागि आह्वान गरेको हो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा विद्युत सेवा लिएका तर बक्यौता रहेका ग्राहकले बिल रकमको ५ प्रतिशत बराबरको नगद वा सोही मूल्य बराबरको एक वर्षे ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाएर पुनरावेदन गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रावधान प्राधिकरणको विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ५५(२) मा आधारित छ ।

सञ्चालक समितिको निर्णयपछि धरौटीको प्रतिशत ५ मा झारेर पुनरावेदन प्रक्रिया सहज बनाइएको प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगीहरू र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।

उद्योगीहरूले टिओडी मिटरको विवरण माग गरिरहेका छन् भने प्राधिकरणले प्रशासकीय पुनरावेदनमार्फत समस्या समाधानको बाटो खुल्ने विश्वास लिएको छ ।

Skip This