
एजेन्सी । शीतयुद्धको समयमा पाकिस्तानले भारतसँग १९६५ र १९७१ मा युद्ध लडेको थियो । शीतयुद्धमा पाकिस्तान अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनको हिस्सा थियो । त्यही समयमा, सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेको थियो । सोभियत संघ अफगानिस्तानमा कम्युनिस्ट सरकार चाहन्थ्यो र इस्लामी कट्टरपन्थीलाई सत्ता बाहिर राख्न खोजिरहेको थियो । अर्कोतर्फ अमेरिका चाहन्थ्यो कि कम्युनिस्ट सरकार भएका देशहरूलाई कमजोर पारियोस् ।
अमेरिका अफगानिस्तानमा सोभियत संघलाई पराजित गर्न पाकिस्तानको सहयोग लिइरहेको थियो । त्यसको बदलामा पाकिस्तानलाई अमेरिका बाट आर्थिक र सैन्य सहायता प्राप्त भइरह्यो ।
अमेरिकाको पाकिस्तानसँगको निकटता रणनीतिक आवश्यकताका कारण थियो, जुन सधैँका लागि थिएन । अफगानिस्तानमा पाकिस्तान र अमेरिकाले जन्माएका कट्टरपन्थीहरू पछि उनीहरूकै चुनौती बने र त्यो चुनौती अझैसम्म कायम छ ।
१९६२ मा चीनले भारतमा आक्रमण गरेको थियो ।
चीनको आक्रमणको तीन वर्षपछि पाकिस्तानले भारतमा आक्रमण गर्यो। पाकिस्तानलाई लागेको थियो कि चीनसँगको युद्धपछि भारतको मनोबल कमजोर छ, त्यसैले पराजित गर्न सजिलो हुन्छ । तर पाकिस्तानको आँकलन गलत साबित भयो ।
१९६५ को युद्धमा अमेरिकाले पाकिस्तानलाई सैन्य सहायता दिएन । तर भारतलाई पनि उसले खुला समर्थन गरेन ।
१९७१ को युद्धमा भने अमेरिका पाकिस्तानको पक्षमा थियो।
अमेरिकी युद्धपोत यूएसएस इन्टरप्राइस भियतनामबाट बंगालको खाडीमा आइपुगेको थियो । भनिन्छ, यो सोभियत संघलाई संकेत दिने उद्देश्यले गरिएको थियो कि अमेरिका पाकिस्तानलाई आवश्यक परे सहयोग गर्न सक्छ ।
यद्यपि, प्रत्यक्ष हस्तक्षेपको आदेश दिइएको थिएन। तर कूटनीतिक र मानसिक रूपमा अमेरिका पाकिस्तानसँग थियो ।

भारत–सोभियत मित्रता सन्धि
सन् १९७१ को अगस्टमा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले सोभियत संघसँग ‘शान्ति, मित्रता र सहयोग सन्धि’ मा हस्ताक्षर गरिन् । सो सन्धिअनुसार युद्धको अवस्थामा सोभियत संघले कूटनीतिक र सैन्य सहयोग दिने आश्वासन दिएको थियो ।
१९७१ मा १३ दिनसम्म चलेको भारत–पाकिस्तान युद्धको परिणामस्वरूप पूर्वी पाकिस्तान अलग भई बङ्गलादेश बनेको थियो । यसरी भारत पाकिस्तानलाई दुई टुक्रा बनाउन सफल भयो ।
पश्चिमी मुलुकहरूको समर्थन पाएको अवस्थामा पनि पाकिस्तान भारतसँग भएका सबै युद्धमा हार्यो । खाडीका मुस्लिम मुलुकहरूले समेत पाकिस्तानको साथ दिइरहेका थिए ।
१९९९ मा करगिल युद्ध
शीतयुद्ध सकिएपछि पनि सन् १९९९ मा पाकिस्तानले फेरि करगिलमा आक्रमण गर्यो । तर अन्ततः उसले पछि हट्नु पर्यो ।
भारत अहिले विश्वकै चौथो ठूलो अर्थतन्त्र
ती तीन युद्धपछिका वर्षहरूमा विश्व नै धेरै फेरिएको छ । सोभियत संघ विघटन भई अब रूस बाँकी छ । संसार अब दुई ध्रुवीय होइन, बहुध्रुवीय हुँदैछ र चीन दोस्रो शक्तिशाली ध्रुवका रूपमा उभिएको छ ।
भारत भने विश्वकै चौथो ठूलो अर्थतन्त्र बनिसकेको छ । भारतसँग अमेरिका, चीन, साउदी अरब जस्ता मुलुकहरूसँग १०० अर्ब डलरभन्दा बढीको व्यापार छ । युएईसँग पनि यति नै व्यापार छ। साउदीसँग ५० अर्ब डलर नजिकको व्यापार छ ।
युक्रेन–रूस युद्धपछि रूससँग भारतको व्यापार ६५ अर्ब डलर नाघिसकेको छ ।
पाकिस्तानका मित्र मानिने देशहरूसँग पनि भारतको व्यापार बलियो छ, तर पाकिस्तानसँग उनीहरूको व्यापार खासै छैन ।
टर्कीको समर्थन पाकिस्तानलाई
गुरुवार रात टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक्समा लेखे, ‘भारत र पाकिस्तानबीचको तनावबारे हामी चिन्तित छौं । यो युद्धमा परिणत हुन सक्छ ।’ उनले पाकिस्तानका नागरिकहरूलाई ‘हाम्रा दाजुभाइ’ भनेका छन् र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग कुराकानी गरेको जनाएका छन् ।
एर्दोआनले पहलगाम हमलाको अन्तर्राष्ट्रिय जाँच हुनुपर्ने बताएका छन्। टर्कीले पाकिस्तानकै लाइनमा समर्थन जनाएको देखिन्छ।
यद्यपि भारत र टर्कीबीचको व्यापार १० अर्ब डलर नाघिसकेको छ, तर पाकिस्तानसँग त्यो १ अर्ब डलर पार गर्न पनि मुश्किल छ।
भारतमा साउदी र इरानका मन्त्री
साउदी अरबका विदेश राज्यमन्त्री अदेल अल-जुबैर बिहीवार भारत पुगे। उनले प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरे ।
उनको यात्रा अघोषित थियो । त्यही बेला इरानका विदेशमन्त्री सैयद अब्बास अरागची पनि भारत आएका थिए । उनी यसअघि पाकिस्तान गएका थिए ।
जयशंकरले एक्समा लेखे, ‘आतंकवादको दृढतापूर्वक सामना गर्ने भारतको दृष्टिकोण साउदी मन्त्रीसँग साझा गरियो ।’
साउदीले पहिले नै दुबै देशलाई संवाद गर्न अपिल गरेको थियो ।
अतीतमा साउदीले पाकिस्तानलाई युद्धका बेला तेलसमेत निःशुल्क दिएको थियो। तर अहिले ऊ तटस्थ देखिएको छ।
इरानले देखायो तटस्थता
इरानले अतीतमा पाकिस्तानको समर्थन गरे पनि अहिले पहलगामपछिको तनावमा उसले कुनै पक्ष नलिएको देखिन्छ । इरानी विदेशमन्त्रीले भारतका उच्च नेताहरूसँग भेट गरेर चाबहार पोर्ट, व्यापार, तथा शान्ति र स्थायित्वबारे छलफल गरेका छन् ।
इरानले शान्तिका पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ ।
इजरायल, फ्रान्स, अमेरिका र रूस भारतको पक्षमा
इजरायलले भारतलाई आत्मरक्षाको अधिकार भएको बताएको छ। फ्रान्स र रूसले पनि आतंकवादविरुद्ध भारतको समर्थन गरेका छन्।
चीनले भारतको कारबाहीमा चिन्ता जनाए पनि आतंकवादको निन्दा गरेको छ। अमेरिका पनि खुलेर आतंकवादको विरोधमा उभिएको छ।
निक्की हेली र ऋषि सुनकजस्ता नेताहरूले भारतको समर्थन गरेका छन्।
प्रतिक्रिया