
काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङको लगानीमा पोखराको दुई स्थानमा अपार्टमेन्ट निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण अपार्टमेन्ट–मासबार र अन्नपूर्ण–लेकसाइड सेदीमा निर्माण भइरहेको एक सय युनिट अपार्टमेन्टको काम अन्तिम चरणमा पुगेको हो ।
घरजग्गा व्यवसायी कालु गुरुङले रोडसो इन्भेष्टमेन्ट कम्पनीमार्फत् उक्त अपार्टमेन्ट निर्माण गरिरहेको हुन् । कम्पनीले अन्नपूर्ण अपार्टमेन्ट–मास्बारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्टको निर्माण गरिरहेको हो । उक्त दुई स्थानमा १ लाख ३२ हजार ३ सय ५५ स्क्वायर फिटमा अपार्टमेन्ट निर्माणको कार्य भइरहेको छ ।
कम्पनीअनुसार एक सय युनिटको अपार्टमेन्ट निर्माण सम्पन्न गर्न १ अर्ब ७२ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।यसअघि कम्पनीले १ अर्ब ५० करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । तर अहिले उक्त अपार्टमेन्टको अनुमान लागत बढेको छ ।
कम्पनीले अपार्टमेन्टका लागि ग्राहकबाट लिएको अग्रिम भुक्तानी र बैंकबाट कर्जा लिई निर्माण गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२५ को अप्रिलसम्मा ६९ करोड ५० लाख रुपैयाँ ग्राहकबाट लिएको रेटिङमा उल्लेख छ ।
कम्पनीअनुसार हालसम्ममा ९८.६३ प्रतिशत आर्थिक प्रगति भएको छ । जसमा अन्नपूर्ण अपार्टमेन्ट सेदीको भने करिब शतप्रतिशत आर्थिक प्रगति भएको कम्पनीले जनाएको छ ।
सन् २००४ बाट रियल स्टेट क्षेत्रमा निरन्तर कार्य गर्दै आएका गुरुङको दुई कम्पनीले गत आर्थिक वर्षमा ५२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । जसमध्ये रोडशो इन्भेष्टमेन्टबाट १८ करोड ५० लाख रुपैयाँ र रोडशो रियल स्टेटबाट ३४ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
रोडशो इन्भेष्टमेन्ट कम्पनीले सन् २०२४ मा १८ करोड ५० लाख रुपैयाँको कारोबार गर्दा सन् २०२३ मा ६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४० करोड रुपैयाँको कारोबार गरेको थियो ।
गुरुङको शतप्रतिशत लगानी रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८८ करोड ६७ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ८२ करोड ५७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
त्यसैगरी, कालु गुरुङको रोडशो रियल स्टेट कम्पनीले सन् २०२४ मा ३४ करोड २० लाख रुपैयाँको व्यापार गर्दा सन् २०२३ मा १३ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ४९ करोड २० लाखको गरेको छ । जग्गा प्लटिङ र बिक्री कार्यमा संलग्न गुरुङको यस कम्पनीमा भने ६७ प्रतिशत हिस्सा रहेको रेटिङमा उल्लेख छ ।
रोडशो रियल स्टेटमार्फत् अहिले गुरुङसँग २० करोड ५० लाख रुपैयाँको बुक भ्यालुसहितको जग्गा रहेको जनाइएको छ । साथै १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको कूल लागतको तीनवटा अपार्टमेन्ट तत्काल बिक्रीमा रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले ३ वटा अपार्टमेन्टको अग्रिम भुक्तानीबाट सन् २०२४ को जुलाईसम्ममा १ अर्ब ५ करोड ५० लाख रुपैयाँ रकम संकलन गरेको छ । त्यस्तै आगामी दिनमा अपार्टमेन्टको कारोबार बढ्न गई व्यापारमा सुधार हुने अपेक्षा कम्पनीले गरेको छ ।
कम्पनीले रोडशो रियल स्टेटमार्फत् अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब १४ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड २२ लाख रुपैयाँ र दीर्घकालीन कर्जाका लागि ७ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया