सञ्चालनमा आएको वर्षदिनमै कालु गुरुङको अन्नपूर्ण केबलकारले गर्‍यो ८ करोडको कारोबार



काठमाडौं । रियल इस्टेट व्यवसायी कालु गुरुङको अन्नपूर्ण केबलकारले ८ करोड रुपैयाँ बढीको कारोबार गरेको छ ।

सञ्चालनमा आएको वर्ष दिनमै कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०१० मा दर्ता भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको छ ।

कम्पनीले सन् २०२३ को सुरुवातबाट मात्रै केबलकार पूर्ण रुपमा सञ्चालनमा ल्याएको थियो । पर्यटकीय नगरी पोखराको सेती बगरबाट साराङकोटसम्म २.३ किलोमिटर लामो केबलकार अन्नपूर्ण केबलकार सञ्चालनमा छ । केबलकारमा १७ वटा गोन्डोला छन् ।

सन् २०२३ मा ९ प्रतिशत क्षमतामा केबलकार सञ्चालन भएको कम्पनीले जनाएको छ । सन् २०२३ मा १ लाख २८ हजार ३९२ जनालाई केबलकारको सेवा दिएको कम्पनीले जनाएको छ । त्यसमध्ये ४१ हजार ४४६ जना विदेशी पर्यटक थिए ।

वर्षदिनमै १ करोड बढीको व्यापार गरे पनि उच्च ब्याजदर कारण सन् २०२३ मा खुद नाफामा घाटा व्यहोरेको कम्पनीले जनाएको छ । आगामी दिनमा भने नाफा कमाउने कम्पनीको भनाइ छ ।

‘आयोजना सञ्चालनमा आएको पहिलो चरण भएकाले खुद नाफामा घाटा व्यहोरेको छ । तर, आगामी दिनमा कारोबार बढ्न गई नाफा कमाउनेछ,’ कम्पनीले भनेको छ । आगामी दिनम केबलकारमा पर्यटक बढ्दा कम्पनीले राम्रो आम्दानी गर्ने उल्लेख छ ।

गुरुङको पूर्ण स्वामित्व रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड ६२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५ करोड ६० लाख रुपैयाँ अर्थात् सिंगल बी प्लस र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु