
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले दुई ठूला दलको गठबन्धनले सरकार गठन गरे पनि जनतामा देखिएको असन्तुष्टिलाई चिर्न असफल भएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले वर्तमान सरकारले केही नयाँ उपलब्धि दिन नसकेको आरोप लगाए । उनले मुलुकले अहिले ऋणको भारी बोकेको बताउँदै भ्रष्टाचार महामारीजस्तै फैलिएको उल्लेख गर्दै देश सिकिस्त बिरामी भएको अनुभूति भएको बताए ।
उनले दुई तिहाइको सरकार रहँदासमेत दश महिनामा पूँजीगत खर्च एक तिहाइ पनि नपुगेको भन्दै सरकारको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाए।
नेपाल विद्युत् प्राधिकरणसम्बन्धी श्वेतपत्रप्रति पनि सांसद केसीले आशंका व्यक्त गरे । उनले एक महिना अघिसम्म नाफामा रहेको प्राधिकरण कसरी ५ अर्ब घाटामा गएको हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘श्वेतपत्रमा प्राधिकरण ५ अर्ब घाटामा गएको भनिएको छ, तर एक महिनाअघि मात्र नाफामा रहेको भन्दै सार्वजनिक अभिव्यक्ति आएको थियो। जनतालाई यस्ता विरोधाभासी विवरणले भ्रमित बनाएको छ।’
सांसद केसीले आफू सांसद भए पनि विद्युत् प्राधिकरणको आर्थिक अवस्थाबारे प्रस्ट हुन नसकेको भन्दै ऊर्जा मन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने वा संसदबाटै छानबिन अघि बढाउनुपर्ने माग गरे ।








प्रतिक्रिया