
काठमाडौं । केही सातायता हाइड्रोपावर क्षेत्रका सूचीकृत कम्पनीलाई होल्डिङ्स कम्पनी भन्दै अस्वभाविक रुपमा सेयर मूल्य बढाइएको छ । दोस्रो बजारमा सूचीकृत भएका जलविद्युत समूहका केही हाइड्रोपावर कम्पनीले होल्डिङ्स कम्पनीका रूपमा सेयर लगानी गरेको भन्दै मूल्य र काराेबार बढाउने चलखेल गरेको पाइएकाे हाे ।
ती कम्पनीको केही सहायक कम्पनी लगानी छन् । बजारमूल्य देखाउँदै तथा लकइन खुल्ने अवधि नजिकिएको देखाएर सहायक कम्पनीको सेयर बिक्री गरेर ठूलो रकम मुनाफा गर्ने भन्दै ती माउ कम्पनीको सेयर मूल्य बढाउँदै लगिएको हाे । यस्ताे कार्य सुरू भएसँगै निश्चित जलविद्युत कम्पनीको सेयर कारोबार अस्वभाविक रुपमा बढेको देखिन्छ । होल्डिङ्स कम्पनी भनेर चर्चा गरिएका जलविद्युत कम्पनीहरू ङादी ग्रुप पावर, सानीमा माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर आदी हुन् ।
यी कम्पनीको वित्तीय विवरण राम्रो आएर वा समग्र बजार सुधार भएर काराेबार रकम र मूल्य पनि अस्वभाविक रूपमा बढेको होइन । केही हाइड्रोपावरमा उनीहरुको लगानीलाई देखाउँदै ती कम्पनीको मूल्यमाथि चलखेल बढेको हो ।
भरखरै लकइन अवधि खुलेका तथा खुल्ने समय नजिकिएका सूचीकृत होल्डिङ्स कम्पनीमा रहेको लगानी देखाउँदै जलविद्युत् कम्पनीको सेयर मूल्यमा कर्नरिङ भइरहेको छ । यसले कर्नरिङ मात्रै नभएर ‘पम्पिङ एण्ड डम्पिङ’को जोखिम समेत आम लगानीकर्तामा देखिएको छ ।
केही समयम अघिसम्म चुक्ता पुँजी कम भएका (लो क्याप) कम्पनी छानेर कर्नरिङ गर्दै मूल्य उचालेर बिक्री गरि आम लगानीकर्ता फसाउने समूह सक्रिय थियो । विस्तारै सोही समूह होल्डिङ कम्पनी भनेर उल्लेखित हाइड्रोपावर कम्पनीको सेयर कर्नरिङ गर्न सक्रिय भएको हो ।
लकइन अवधि खुलेका तथा खुल्ने समय नजिकिएका सूचीकृत कम्पनीहरुको सेयर बेच्नेबेला आएको भन्दै हल्ला फैलाएपछि सेयरमूल्य निरन्तर घटेको छ । तर, लकइन अवधि सकिन केही समय रहेका केही कम्पनीमा ठूलो हिस्सा लगानी गरेका ती कम्पनीको मूल्य भने पछिल्लो केही कारोबार दिनमा निरन्तर बढेको हो । सेयरमूल्य मात्रै नभएर ती कम्पनीको बजारमा कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ । अर्थात्, लगानीकर्ता सेयर किनबेच गर्न हौसिएका छन् ।
हाल होल्डिङ्स कम्पनी भन्दै ङादी ग्रुप पावर कम्पनी, सानीमा माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर जस्ता कम्पनीको सेयर मूल्य उचालिएको छ । पछिल्लो एक महिनायताको कारोबार हर्ने हो भने यी कम्पनीको सेयरमूल्य बढेको छ । कारोबार रकममा पनि यी कम्पनीको वर्चस्व देखिन्छ ।
गत चैत २१ मा २६५ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको ङादी ग्रुप पावरको सेयर मूल्य हाल ४०० नजिक पुगेको छ । पछिल्लो १० कारोबार दिनमा अधिकांश दिन ५० करोड माथिको कारोबार भएको यस कम्पनीको सेयर खरिदबिक्री एकै दिन ८६ करोडसम्म भएको देखिन्छ । लगातार जसो यो कम्पनी सर्वाधिक कारोबार हुनेमध्येमा पर्दै आएको छ ।
यस्तै, स्थिति अन्य कम्पनीमा पनि देखिन्छन् । चैत १२ मा ४४७ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको सानीमा माई हाइड्रोको सेयर मूल्य निरन्तर बढेर ६०० मागि पुगेको छ । वैशाख २३ गते मात्रै यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँसम्मको कारोबार भएको देखिन्छ । विगतको तुलनामा पछिल्लो समय यस कम्पनीको दैनिक सेयर कारोबार ठूलो मात्रामा भइरहेको छ ।
यस्तै स्थिति राधी विद्युत कम्पनीमा पनि देखिन्छ । २०८१ पुस १५ गते राधीको सेयर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएर बन्द भएपनि हाल भने त्यसबाट बढेर ७०० माथि पुगिसकेको छ । सर्वाधिक सेयर खरिदबिक्री हुने मध्येमा पर्दै आएको राधी कम्पनीको सेयर वैशाख २२ मा मात्रै ७६ करोड रुपैयाँको किनबेच भएको थियो । बुटवल पावर र अरुण भ्याली कम्पनीको सेयर मूल्य वृद्धि र कारोबार रकम पनि यहि गतिमा देखिन्छ ।
तर, यस्ता जलविद्युत् कम्पनीले लगानी गरेको अन्य परियोजनाको सेयरको बजार मूल्यलाई देखाएर ‘होल्डिङ्स कम्पनी’ भन्दै सेयरमूल्य उचालिदा लइकन खुल्ने अवस्थामा पुगेको कम्पनीको सेयमूल्य भने निरन्तर ओरालो लागेका छन् । सेयरमूल्यसँगै कारोबार रकम पनि घट्दै गएको छ । यसरी विभिन्न परियोजनामा गरेको लगानी र तिनको लकइन अवधि देखाउँदै ‘इन्भेष्टमेन्ट’ उपसमुहमा यसैगरी मूल्य उचाल्ने गरेकोमा यसपटक भने होल्डिङ कम्पनी भन्दै हाइड्रोपावर कम्पनीमा उनिहरुको प्रवेश भएको छ ।
ङादी ग्रुप पावर
पछिल्लो केही दिन यता ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार हुने कम्पनीमा पर्दै आएको छ भने सेयर मूल्य पनि बढिरहेको छ । यस कम्पनीको एकै दिन ८६ करोड रुपैयाँसम्मको सेयर खरिदबिक्री भइरहेको छ । खासगरी, सगरमाथा जलविद्युत् कम्पनी र माईखोला हाइड्रोमा कम्पनीले गरेको सेयर लगानीलाई दखाउँदै यस कम्पनीको सेयर उचालिएको देखिन्छ ।
ङादी ग्रुप पावरले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको १ अर्ब ४० करोड ३६ लाख रुपैयाँ र माईखोला हाइड्रोपावरको ८२ करोड ७२ लाख सेयर (असार मसान्तको बजार दरअनुसार) खरिद गरेको थियो । सगरमाथा जलविद्युतमा ङादीको ४७ लाख ६१ कित्ता र माईखोला हाइड्रोमा १९ लाख ८१ हजार कित्ता सेयर छ । यस्तै, न्यादी पावरको १ करोड ७४ लाख कित्ता सेयर पनि ङादीको स्वामित्वमा छ ।
ङादीले लगानी गरेको सगरमाथा जलविद्युत् कम्पनीको सेयर २०७९ चैत २९ मा नेप्सेमा सूचीकृत भएको थियो । जसअनुसार २०८२ चैतमा कम्पनीको लकइन अवधि सकिँदैछ । हाइड्रोपावर कम्पनीको आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीको लकइन अवधि ३ वर्ष हुन्छ ।
गएको फागुन २२ गते ७०१ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको कम्पनीको मूल्य लकइन अवधि खुल्ने समय अगाडिदेखि नै लगातार घटेर अहिले ५२५ रुपैयाँमा खुम्चिएको छ ।

यस्तै, ङादीको सेयर लगानी रहेको माईखोला हाइड्रोपावरको सेयर २०८० जेठ १ मा सूचीकृत भएको थियो । जसअनुसार २०८३ जेठमा यसको लकइन अवधि खुल्दैछ । यी दुई कम्पनीको दोस्रो बजारको सेयरमूल्य देखाएर ङादी पावरको सेयर मूल्य बढाइएको छ ।
कम्पनीको बरुण हाइड्रोमा ९ लाख ७४ हजार, रिभरफल्स पावरमा ६ लाख ६६ हजार, सिउरी न्यादी पावरमा १ अर्ब ८ करोड ७९ लाख, नेपाल पावर एक्सचेञ्जमा १० लाख लगानी छ । कम्पनीको समृद्धि इनर्जीमा १० करोड र जनशक्ति हाइड्रोमा ३ करोड पेश्की लगानी गरेको छ ।
सानीमा माई हाइड्रोपावर
सानीमा माई हाइड्रो पावरलाई पनि होल्डिङ्स कम्पनी भन्दै देखाइएको छ । यो कम्पनी सेयर मूल्य सर्वाधिक वृद्धि भएको अर्को कम्पनी हो । कारोबारको हिसाबमा हेर्ने हो भने पनि यो सबैभन्दा बढी हुनेमा पर्दै आएको छ । यस कम्पनीको सेयर एकै दिन ९२ करोडसम्म कारोबार भएको देखिन्छ ।
सानीमा माई हाइड्रोपावरको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनमा ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर लगानी छ । २०७९ साउन ३१ मा श्वेतगंगा हाइड्रोको सेयर सूचीकृत भएको थियो । लकइन सानीमा माईको सेयर मूल्य लगातार उकालो लाग्दा अर्कोतर्फ श्वेतगंगाको सेयर मूल्य भने निरन्तर घट्दो क्रममा छ ।
२०८१ माघ २८ मा ६२१ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको कम्पनीको मूल्य हाल साढे ४०० हाराहारी छ । यसका अलावा सानीमा माईको माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको २३ लाख ७५ हजार कित्ता सेयरमा २३ करोड ७५ लाख रुपैयाँ र सानिमा मिडल तमोर हाइड्रोपावरको ५३ लाख ३२ हजार कित्ता सेयरमा ५३ करोड ३२ लाख रुपैयाँ लगानी छ ।

सानिमा मिडल तमोर कम्पनीको सेयर २०७९ चैत २६ मा नेप्सेमा सूचीकृत भएको थियो भने माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको २०८० कात्तिक २३ मा सूचीकृत भएको थियो । कम्पनीको सानिमा जुम हाइड्रोपावरमा ३ लाख ३४ हजार ४७५ कित्ता सेयरमा ३ करोड ३४ लाख ४७ हजार ५०० रुपैयाँ लगानी छ ।
सानीमा माईले सानीमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड लगानी गर्ने कबुल गरेको भएपनि बाँकी भने चुक्ता भएको छैन । बाबरी कन्स्ट्रक्सनको २ लाख कित्ता सेयरमा सानीमा माईको २ करोड लगानी छ ।
राधी विद्युत् कम्पनी
पछिल्लो समय सर्वाधिक चलेका कम्पनी मध्येमा पर्ने अर्को कम्पनी हो, राधी विद्युत कम्पनी । २०८१ पुस १५ गते राधीको सेयर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएर बन्द भएपनि हाल त्यसबाट लगातार बढेर ७०० माथि पुगेको छ । पछिल्लो केही दिन यता कम्पनीको सेयर कारोबार पनि निकै उच्च भइरहेको छ । वैशाख २२ मात्रै यस कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
राधी विद्युत् कम्पनीको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको १२ लाख २३ हजार कित्ता सेयरमा १२ करोड २३ लाख रुपैयाँ लगानी छ । नेप्सेमा राप्ती हाइड्रोको सेयर २०७९ भदौ १४ मा सूचीकृत भएको थियो । २०८१ फागुन २८ मा ६९३ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको यस कम्पनीको सेयर मूल्य त्यसबाट लगातार घटेर हाल ५०० रुपैयाँमा सीमित भएको छ ।

राधी विद्युत् कम्पनीको युनिभर्सल पावर कम्पनीको ११ लाख ४५ हजार कित्ता सेयरमा ११ करोड ४५ लाख रुपैयाँ, दोर्दी खोला जलविद्युत् कम्पनीको १६ लाख ४४ हजार कित्ता सेयरमा १६ करोड ४४ लाख रुपैयाँ लगानी छ ।
यस्तै, राधीको कसुवा खोला हाइड्रोपावरको ३ लाख ११ हजार कित्ता सेयरमा ३ करोड ११ लाख रुपैयाँ र इलेभेसन इनर्जी म्यानेजमेन्टको ५३ लाख कित्ता सेयरमा २६ करोड ५१ लाख रुपैयाँ लगानी छ । यीनै कम्पनीलाई देखाएर राधी विद्युत् कम्पनीको सेयर मूल्य बढाउने क्रम चल्दा उच्च कारोबार भइरहेको छ ।
बुटवल पावर कम्पनी
पछिल्लो पटकको बुटवल पावर कम्पनीको सेयर खरिदबिक्री उल्लेख बढेको छ । सेयर मूल्यमा सामान्य उतारचढाव भए पनि यस कम्पनीको कारोबार भने एकदमै बढेको देखिन्छ । यस कम्पनीको सेयर पनि अरू कम्पनीलाई देखाएर नै उचालिएको हो ।
बुटवल पावरको न्यादी हाइड्रोपावरमा १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर छ । न्यादीको सेयर नेप्सेमा २०७८ मंसिर सुचिकृत भएको ८ मा भएको थियो । २०८१ माघ ३० मा ८६८ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको न्यादी हाइड्रोको सेयर मूल्य हाल भने ४०० रुपैयाँ हाराहारीमा भइरहेको छ ।

यसका अलावा बुटवल पावरको नाममा गुराँस इनर्जीको ३३ लाख १९ हजार ८३६ कित्ता, काबेली इनर्जीमा २९ लाख ६६ हजार ८६० कित्ता, बीपीसी सर्भिस लिमिटेडमा १ लाख कित्ता, हिमताल हाइड्रोपावर कम्पनीमा ६ लाख १ हजार ३०० कित्ता सेयर छ ।
बुटवल पावर कम्पनीले हालैमात्र न्यादी हाइड्रोपावरमा रहेको आफ्नो ३१ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बुटवल पावरको नाममा रहेको १ करोड ७ लाख ५१ हजार ४५३ कित्तामध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने तयारी कम्पनीले गरेको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट
अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य र कारोबार रकम पनि केही सातायता उल्लासमय छ । गत चैत ३१ गते २४९ रुपैयाँ प्रतिकित्तामा सेयर खरिदबिक्री भएको यस कम्पनीको मूल्य हाल ३०० माथि पुगिसकेको छ । वैशाख २३ मा ३२ करोड ७० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको यस कम्पनीको वैशाख २४ मा ३१ करोड ५८ लाख रुपैयाँको भएको छ ।

पीके हाइड्रोपावरमा अरुण भ्यालीको नाममा २७ करोड ५३ लाख २८ हजार रुपैयाँ बराबरको २७ लाख ५३ हजार कित्ता सेयर छ । अरुण भ्यालीको सहायक कम्पनीको रुपमा रहेको यस पिके हाइड्रोपावर कम्पनीसँग अपि हाइड्रो मेकानिकल, अरुण काबेली पावर, रिडी पावर र हिमालयन उर्जा विकास कम्पनी जोडिएका छन् ।
अपि पावर कम्पनी
अपि पावर कम्पनीको सेयरमा पनि पछिल्लो केही दिन यता लगानीकर्ता झुम्मिएको देखिन्छ । वैशाख १६ मा ४ करोड २४ लाख रुपैयाँको मात्रै कारोबार भएकोमा वैशाख २१ मा ३९ करोड ४५ लाख रुपैयाँको कारोबार भयो । वैशाख २४ मा मात्रै पनि यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

गत चैत २६ मा २७० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको यस कम्पनीको मूल्य हाल ३११ रुपैयाँ पुगेको छ । अपिले इंग्वा हाइड्रोपावरको १५ लाख कित्ता सेयरमा लगानी गरेको छ ।
यसका अलावा अपि पावरको अपि हाइड्रो मेकानिकलमा ७० लाख ५५ हजार कित्ता, अपि इन्फ्रामा २१ लाख १ हजार कित्ता, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकमा ३२ लाख ९२ हजार कित्ता सेयर लगानी छ ।
प्रतिक्रिया