आरके गोल्छा ग्रुपको रघुपति जुट मिल्ससहितका दुई कम्पनीले ६ महिनामा गरे ३ अर्बको व्यापार

308
Shares

काठमाडौं । राजकुमार (आरके) गोल्छा ग्रुपको दुई कम्पनीले ६ महिनामा ३ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ को ६ महिनाको अवधिमा दुई कम्पनीले २ अर्ब ८८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

ग्रुपको अरिहन्त मल्टी फाइबर र श्री रघुपति जुट मिल्समार्फत् उक्त व्यापार गरेको हो । जसमा अरिहन्त मल्टी फाइबरले ६ महिनाको अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ र श्री रघुपति जुट मिल्स्ले १ अर्ब १३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

फाइबर र जुट बेच्ने गरी सन् १९९२ मा स्थापना भएको अरिहन्त कम्पनीले सन् २०२४ मा ३ अर्ब ४२ करोड रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक ३१ हजार ६८० मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४९ करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, श्री रघुपति जुट मिलले सन् २०२४ मा २ अर्ब ११ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ५८ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

६५ प्रतिशत हिस्सा अरिहन्त मल्टी फाइबर, ३३ प्रतिशत अर्थ मन्त्रालय र २ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको मिलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीले हेसिन, स्याकिङ, ट्वाइन, क्यान्डीसलगायतका वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जुटजन्य वस्तु ठूलो मात्रामा भारतमा निर्यात गर्दै आएको छ । सरकारले उच्च निर्यात हुने वस्तुमा सन् २०१९ देखि अनुदानको व्यवस्था गर्दै आएको छ । जसले गर्दा निर्यात सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी कच्चा पदार्थ भारत र बंगलादेशबाट आयात गरी वस्तु तयार गर्दै आएको छ ।