विराटनगर अस्पतालले ९ महिनामै गर्‍यो पौने २ अर्ब बढी आम्दानी

1.3k
Shares

काठमाडौं । विराटनगर अस्पतालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने २ अर्ब बढी आम्दानी गरेको छ । अस्पतालले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको हो ।

सन् २००८ मा स्थापना भएको अस्पतालले सन् २०२४ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको थियो ।

अस्पतालले सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँको आम्दानी गरेको थियो । त्यस्तै सन् २०२२ मा १ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।

सामग्रमा अस्पतालको आम्दानी हेर्दा चालु आर्थिक वर्षमा हालसम्मकै उच्च गरेको कारोबार पाइन्छ ।

अस्पतालले सन् २०२४ मा सन् २०२३ को तुलनामा ५१ प्रतिशतले आम्दानी बढेको जनाएको छ । जसमा अस्पतालले सन् २०२४ मा १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२३ मा ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अस्पतालले विभिन्न प्रकारका सुविधा दिँदै आएको छ ।
डा. ज्ञानेन्द्रमान सिंहको मुख्य लगानी रहेको अस्पतालले ७ सय ५४ शय्याको सुविधा दिँदै आएको छ। अस्पतालले उपचारको सुविधासँगै एमबीबीएस, बीएससी नर्सिङ, बीपीटी र बीएससी एमएलटीको कक्षा सञ्चालन गर्दै आएको छ ।

अस्पतालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ८० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड रुपैयाँ रेटिङ गराएको छ । अस्पतालले आफ्नो क्षमता विस्तार तथा नयाँ मेसिनरी थप गरेकाले उक्त कर्जा लिएको रेटिङमा उल्लेख छ ।

अस्पतालले दर्मोटोलोजी, फोरेन्सिक मेडिसिन, अर्थोडन्टिक्स, पेडोडोन्टिक्स आदिको सुविधा दिँदै आएको छ । सन् २०२४ मा ८६ प्रतिशत आम्दानी अस्पताललबाट गरेको छ भने १२ प्रतिशत फार्मेसीबाट गरेको छ ।