नाजुक स्थितिमा फाइनान्स समूह, इन्डेक्स १० महिना यताकै न्यून

कुन समूहको अवस्था कस्तो?

924
Shares

काठमाडौं । केही समय अगाडि सर्वाधिक चलेको फाइनान्स समूह हाल निकै संकुचित अवस्थामा छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १२ समूहको तुलनामा अहिले फाइनान्स समूह सबैभन्दा कमजोर अवस्थामा मात्रै छैन, १० महिना यताकै न्यून विन्दुमा छ ।

पछिल्लो कारोबार दिन बुधबार अर्थात् वैशाख १७ मा फाइनान्स इन्डेक्स (सूचक) २३९७.७९ विन्दुमा छ जुन पछिल्लो १० महिना यताकै न्यून हो । यसअघि २०८१ असार ६ मा फाइनान्स इन्डेक्स २३४०.७७ विन्दुमा थियो । त्यसपछि बढेर भदौ ६ मा ३९७५.४९ विन्दुसम्म पुग्यो । यद्यपि, हाल भने फाइनान्स समूहको सूचक उक्त विन्दुबाट १५७८ अंकले घटेर २३९७ विन्दुमा सीमित भएको हो ।

गत भदौ ६ मा फाइनान्स इन्डेक्स एक वर्ष यताकै उच्च अर्थात् ३९७५ विन्दुमा रहेपनि त्यसबाट निरन्तर घट्दोक्रममा छ । भदौबाट असोज १३ मा आईपुग्दा फाइनान्स इन्डेक्स २७१२ विन्दुमा झरिसकेको थियो । तर, त्यसबाट करिब १२०० अंकले बढ्दै फाइनान्स इन्डेक्स फेरि कात्तिक २८ मा ३७६५ विन्दुमा पुग्यो ।

उक्त विन्दुबाट भने फाइनान्स समूहको ओरालो यात्रा रोकिएको छैन । २०८१ माघ १३ गते २४४२ विन्दुमा सीमित भएको फाइनान्स इन्डेक्स त्यसबाट सामान्य घटबढ हुँदै अहिले २३९७ विन्दुमा खुम्चिएको हो । सूचीकृत सबै समूहसँग दाँजेर हेर्ने हो भने पनि फाइनान्स इन्डेक्स हाल सबैभन्दा कमजोर सेक्टरको रुपमा देखिएको छ ।

गत साउन ३१ गते सेयर बजार परिसूचक नेप्से ३००० विन्दुसम्म पुगेको थियो । हाल त्यसबाट ३७७ अंकले घट्दै २६२३ विन्दुमा छ । सूचक नै झण्डै ४०० अंकले तल रहेकाले अधिकांश समूह सूचक साउनको तुलनामा न्यून विन्दुमा नै छन् । साउन ३१ को तुलनामा वैशाख १७ मा आईपुग्दा जीवन बिमा इन्डेक्स ११.४८ प्रतिशतले, निर्जीवन बिमा इन्डेक्स १४.८४ प्रतिशतले, उत्पादन इन्डेक्स ११.२९ प्रतिशतले र होटल तथा पर्यटन इन्डेक्स १८.१७ प्रतिशतले घटेका छन् ।

यस अवधिमा विकास बैंक इन्डेक्स ८.२८ प्रतिशतले, लघुवित्त इन्डेक्स १४.५८ प्रतिशतले, बैंकिङ इन्डेक्स २२.५७ प्रतिशतले, लगानी समूह इन्डेक्स ६.५६ प्रतिशत, लघविद्युत् इन्डेक्स ७.९५ प्रतिशत र सर्वाधिक घटेको फाइनान्स इन्डेक्स ३७.७१ प्रतिशतले खुम्चिएको छ ।

सबै समूह घटेर न्यून विन्दुमा रहँदा पनि व्यापार इन्डेक्स भने ७.४७ प्रतिशतले बढेर ४५३१ विन्दुमा छ । यसरी, अन्य समूहको तुलनामा फाइनान्स इन्डेक्स सबैभन्दा बढी कमजोर अवस्थामा रहेको देखिन्छ । खासगरी, समूहका कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्दै जाँदा फाइनान्स समूम संकुचित बन्दै गएको हो ।

हुन त, यो बीचमा अस्वभाविक उतारचढाव भएका कम्पनीको सेयर मूल्य पनि हाल भने न्यून छ । पछिल्लो एक वर्ष यताको तथ्यांक हेर्ने हो भने पनि २६१४ रुपैयाँ प्रतिकित्ता पुगेको नेपाल फाइनान्सको मूल्य हाल ६४२ मा कारोबार भइरहेको छ । ९५१ रुपैयाँसम्म पुगको बेस्ट फाइनान्सको सेयर मूल्य हाल ४९० रुपैयाँ, १३५३ पुगेको गुडविल फाइनान्सको ६५३ रुपैयाँ, १११७ पुगेको समृद्धि फाइनान्सको ५०० रुपैयाँ, १०८३ सम्म पुगेको जानकी फाइनान्सको ४४९ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।

हुन, त फाइनान्स समूह सर्वाधिक चलेको समयमा बजारमा एक किसिमको ‘बबल’ सिर्जना गरिएको थियो । लो क्यापयुक्त रहेकाले ट्रेडरको रोजाइमा बढी मात्रामा फाइनान्स समूहकै कम्पनीहरु पर्दथे । तर, अहिले सर्टटर्म गर्नेहरुले पनि कम्पनीको आधार कस्तो छ भनेर हेर्न थालेका छन् ।

फाइनान्स समूहका अधिकांश कम्पनीको वित्तीय अवस्था राम्रो नभएका कारण लगानीकर्ता अन्य समूहतर्फ प्रवेश गरेको लगानीकर्ता बताउँछन् । कुनै कम्पनीको मूल्य छोटो समयमा नै अस्वभाविक रुपमा बढेर माथि पुग्ने र निरन्तर घटेर न्यून विन्दुमा खुम्चिने गरेको अवस्था देखेर पनि लगानीकर्ता केही सचेत भएको देखिन्छ ।

अहिले, एकातर्फ फाइनान्सको वित्तीय अवस्था राम्रो छैन भने अर्कोतर्फ, लोक्याप भएका अन्य समूहका कम्पनी पर्याप्त छन् । हिजो फाइनान्स समूह बढ्दा तीव्र गतिमा बढेकाले घट्दा पनि सोही गतिमा घटेर हाल न्यून विन्दुमा खुम्चिएको देखिन्छ ।

फाइनान्स कम्पनीको वित्तीय सूचकहरु हेर्ने हो पनि सकारात्मक अवस्थामा देखिँदैन । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा अनुपात ४.०८ प्रतिशतले बढेर १३.०९ प्रतिशत पुगेको देखिन्छ । गत वर्षको सोही अवधिमा भने कम्पनीहरुको औसत खराब कर्जा अनुपात ९ प्रतिशत थियो ।

चैत मसान्तसम्म फाइनान्स कम्पनीहरुले कुल १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको चैत मसान्तसम्म भने फाइनान्स कम्पनीको कुल नाफा २० करोड ४८ लाख रुपैयाँ थियो ।

कम्पनीगत रुपमा नाफा हेर्ने हो भने केही कम्पनीले उल्लेख्य सुधार गरेका छन् । चैत मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने फाइनान्स कम्पनीमा आइसीएफसी छ जसले १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यस्तै, गत आवको चैतसम्ममा १५ करोड ९ लाख नाफा कमाएको मन्जुश्री फाइनान्सले यस वर्षको चैतसम्म १७ करोड ११ लाख कमाएको छ ।

समीक्षा अवधिसम्ममा पाँच फाइनान्स कम्पनीले कुल ४७ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरेका छन् । सबैभन्दा बढी घाटा बेहोरेको रिलायन्स फाइनान्सको चैतसम्मको घाटा १७ करोड ४७ लाख रुपैयाँ छ । यस्तै, जानकी फाइनान्सले १२ करोड ८३ लाख, बेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गोर्खाज फाइनान्सले ६ करोड २१ लाख र समृद्धि फाइनान्सले ३ करोड ५७ लाख रुपैयाँ घाटा बेहोरेका छन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको देखिन्छ । जानकी फिाइनान्सको निष्क्रिय कर्जा सबैभन्दा बढी अर्थात् ४४.४१ प्रतिशत छ भने पोखरा फाइनान्सको ३१.२५ प्रतिशत र गोर्खाज फाइनान्सको १७.४५ प्रतिशत छ । वित्तीय विवरणअनुसार सात कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि देखिन्छ । सबैभन्दा कम निष्क्रिय कर्जा रहेको आईसीएफसी फाइनान्सको २.०५ प्रतिशत छ ।

फाइनान्स कम्पनीको वित्तीय सूचक

प्रतिसेयर आम्दानीलाई हेर्ने हो भने पाँच कम्पनीको ऋणात्मक देखिन्छ । समृद्धि फाइनान्स, गोखार्ज फाइनान्स, बेस्ट फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक छ । सबैभन्दा बढी प्रतिसेयर आम्दानी रहेको आईसीएफसीको २९.९८ रुपैयाँ, मुञ्जश्री फाइनान्सको १६.८८ रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको १४.२२ रुपैयाँ छ ।

अर्कोतर्फ, रिलायन्सको २०.७७ रुपैयाँ, जानकीको २४.७८ रुपैयाँ, बेस्ट फाइनान्सको ११.२६ रुपैयाँ, गोर्खाज फाइनान्सको ९.५५ रुपैयाँ र समृद्धि फाइनान्सको ५.८१ रुपैयाँले प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । वित्तीय स्थिति राम्रो अवस्थामा नभएकाले पनि फाइनान्स समूहतर्फ लगानीकर्ताको आकर्षण बढी नदेखिएको लगानीकर्ताहरु बताउँछन् ।

‘पहिला सर्टट्रेडिङमा लगानीकर्ता बढी झुम्मिन्थे । तर, कमजोर कम्पनीमा उच्च जोखिम हुने भएकाले सँधै त्यसमा मात्रै मानिस रहीरहन सक्दैन,’ एक ब्रोकरले भने, ‘केही समयको टे«डिङपछि अब मानिस राम्रो कम्पनीतर्फ लागेका हुन् कि भन्ने स्थिति पनि देखिन्छ । यसका साथै, १५ मिनेटको औषत मूल्य कायम हुँदा अन्तिममा सर्किट लाउन कठिन भएकाले पनि यस्ता कम्पनी कम चलेको हुनसक्छन् ।’

Skip This