
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले संस्थाको चुनौतीहरूलाई क्रमशः निराकरण गर्दै प्राधिकरणको दिगो र मजबुत आर्थिक सुधारमार्फत ऊर्जा सुरक्षाको अवस्थालाई सुदृढ गर्दै विश्वसनीय विद्युत उपलब्ध गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै हितेन्द्रले भावी योजना पनि प्रश्तुत गरेका हुन् ।
हितेन्द्रले विश्वसनीय विद्युतको लागि ऊर्जा सुरक्षाको बन्दोबस्ती र विद्युतीय सञ्जालको सुदृढीकरण गर्नु पर्ने उल्लेख गरेका छन् । उनको भनाइ छ, ‘यसको लागि आगामी पाँच वर्षभित्र बृहत लगानी अत्यावश्यक छ ।’
उनका अनुसार ऊर्जा सुरक्षाको लागि निकट भविष्यमानै ब्याटरी इनर्जी स्टोरेज बेस्ट सिस्ट र पम्प स्टोरेज प्लान्टको निर्माण कार्य अगाडि बढाइनेछ । विश्वसनीय विद्युत आपूर्तिका लागि वितरण फिडरहरुमा अटो रिक्लोजर र स्मार्ट लोडब्रेक स्विच जडान कार्य आगामी वर्षबाट शुरु हुनेछ । यसो गरेपछि वितरण लाइनमा कुनै एक ठाउँमा अवरोध आउँदा अरु भागमा विद्युत सुचारु राख्ने व्यवस्था हुनेछ ।
मुख्य शहरहरुमा १०० केभीए देखि माथिका वितरण ट्रान्सफर्मरहरुमा स्मार्ट मिटर जडान गरिने हितेन्द्रको योजना छ । यो कार्यबाट ग्राहकमा विद्युत अवरोध हुनासाथ स्थान र प्रकृति पत्ता लगाउन सकिने र शिघ्र समाधान गर्न सकिने भएबाट विद्युतको विश्वसनीयता बढ्ने उनको भनाइ छ ।
हितेन्द्रले साथै स्युचाटारमा निर्माण भएको वितरण नियन्त्रण केन्द्रमार्फत काठमाडौं उपत्यकाको वितरण लाइनको चौबिसै घण्टा नियन्त्रण तथा अनुगमन गरिने पनि उल्लेख गरेका छन् ।
नेपाल सरकार, नेविप्रा तथा दातृ निकायसमेतको सहयोगमा आगामी २ वर्ष भित्र सम्पूर्ण जिल्लाहरुलाई विद्युतीकरण गरिने उनको योजना छ । हाल देशका ९६ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।
यता प्राधिकरण आफैंले वा सहायक कम्पनीमार्फत अप्पर अरुण (१०६३ मे.वा.), उत्तरगंगा (८२८ मे.वा.), दुधकोशी (६७० मे.वा.) र सुनकोशी – ३ (६८३ मे.वा.) जलाशयुक्त तथा जावा तिला (७०.३७ मे. वा.) अर्ध जलाशययुक्त आयोजना लगायतका अन्य जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
राष्ट्रिय ग्रिड प्रणाली तथा अन्तर्राष्ट्रिय विद्युत व्यापारलाई थप मजबुत बनाउन न्यू बुटवल–लमही, तिंगला– दुधकोशी–ढल्केबर, अरुण इनरुवा ४०० के.भी. प्रसारण लाईन तथा इनरुवा–न्यू पूर्णिया, लम्की (दोधारा ) – बरेली ४०० के.भी. र चमेलिया – जौलजीबी तथा चिलिमे हब– केरुङ २२० के.भी. अन्तरदेशीय प्रसारण लाईनहरु लगायत अन्य भोल्टेज स्तरका प्रसारण लाईनहरुको निर्माण कार्य अगाडि बढाउने हितेन्द्र नेतृत्वको प्राधिकरणको छ ।
उत्पादन, प्रसारण र वितरण प्रणालीको विस्तारका लागि आगामी पाँच वर्षमा निर्माणाधिन आयोजना सहित करिब ६ खर्बको बजेट आवश्यक हुने प्रक्षेपण गरिएकोमा करिब ४ खर्ब वैदेशिक र करिब २ खर्ब आन्तरिक स्रोतबाट जुटाइने उनको लक्ष्य छ ।
प्राधिकरणमा हाल सिर्जित दायित्वहरूको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन ऋण परिचालन गरिनुका साथै नेपाल सरकारसमक्ष थप बजेटको प्रस्ताव गरिनेछ । लागत लाभ विश्लेषणको आधारमा आयोजनाको प्राथमिकिकरण गरी आवश्यक लगानी जुटाउन स्थानीय स्रोतको परिचालन गरिनुका साथै अन्तर्राष्ट्रिय वित्तीय संस्था (जस्तैः एशियाली विकास बैंक, विश्व बैंक लगायत) सँग सहकार्य गरिने उनको योजना छ ।








प्रतिक्रिया