ठेक्कापट्टाको ११ अर्ब ६१ करोड दिन सकिएन, १० अर्ब ऋण लिने प्रक्रिया सुरु: शाक्य

231
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले ठेक्कापट्टा अन्तर्गतको ११ अर्ब ६१ करोड भुक्तानी दिन बाँकी रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो तथ्यांक उल्लेख गरेका हुन्।

‘चालु आवको फाल्गुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको छ, जुन भुक्तानी दिन सकिएको छैन,’ शाक्यले भने, ‘हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर/ने.रू. मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा रु. ३ अर्व ९५ करोड रहेको छ।’

उनले २ अर्ब ४७ करोड कल/चालु खातामा रहेको जुन दैनिक संचालनको लागि न्यूनतम जगेडा रहेको बताए । यसरी निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको उनले उल्लेख गरे ।

‘नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युत बापत ३ अर्ब गरी कुल ३२.५ अर्ब रुपैयाँ दायित्व बाँकी रहेको छ’ उनले भने ।

महालेखा परिक्षकको प्रतिवेदन अनुसार यस संस्थाले वित्तीय विवरणमा विभिन्न शीर्षकमा देखाएको दायित्व १.५३ अर्ब कसको दायित्त्व हो भनि एकिन गर्न नसकिएको तथा रिकंसिलेसन पनि गर्न नसकेको, आव २०८०/८१ सम्म एक्च्युरियल भ्यानुएसनअनुसार कर्मचारीलाई अवकास भुक्तानी गर्दा दिनुपर्ने दायित्व ४८.८७ अर्ब रहेकोमा सो भुक्तानी गर्न संस्थाले ८१.०२ करोड मात्र रकम छुट्टाएकोले बाँकी रकम ४८.०६ अर्ब कुन श्रोतबाट भुक्तानी गर्ने भन्ने संस्थासँग योजना नभएको उल्लेख उनले गरेका छन् ।

आव २०६२/६३ देखि तिर्नुपर्ने दायित्व व्यवस्था अन्तर्गत ५३.६५ करोड वित्तीय विवरणमा देखाउँदै आएको तर प्रचलित लेखामापदण्ड अनुसार सो रकम तिर्न नपर्ने देखिएमा पुनर्लेखन गर्नुपर्नेमा सो समायोजन हालसम्म पनि नगरेको शाक्यले बताए ।