
काठमाडौं । भारतले बढ्दो आन्तरिक मागका कारण केही समय घटाएको विद्युत् आपूर्ति पुनः विस्तार गर्दै नेपाललाई दिनको १५ घण्टासम्म ६०० मेगावाट विद्युत् आयात गर्न स्वीकृति दिएको छ ।
यसअघि सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्रै आपूर्ति भइरहेकोमा अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्मको अवधि तय गरिएको छ ।
भारतले आगामी दुई महिनाका लागि पुरानै स्वीकृतिअनुसार ६०० मेगावाटसम्म निर्यात गर्न सहमति जनाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले हाल भारतबाट राति पनि ४०० मेगावाटसम्म आपूर्ति सुरु भएको जानकारी दिँदै दिनको समयमा विद्युत् ल्याउन समस्या नभएको बताए ।
भारतले केही समयअघि नेपाललाई दिने ६०० मेगावाट बिजुली कटौती गरी ५० मेगावाटमा सीमित गरेपछि उद्योग क्षेत्रमा १३ घण्टासम्म लोडसेडिङ हुन थालेको थियो । चौतर्फी आलोचना भएपछि प्राधिकरणले आइपीएल (इन्डियन प्रिमियर लिग) को कारण माग बढेको र त्यसैले विद्युत् आयातमा समस्या आएको स्पष्टीकरण दिएको थियो ।
प्राधिकरणका अनुसार हाल नेपालमा आन्तरिक उत्पादन (जलाशय, नदी प्रवाही र सौर्य संयन्त्रसमेत) औसत १ हजार १७५ मेगावाट छ । तर, उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट रहेको छ भने अधिकतम आन्तरिक उत्पादन १ हजार ५९३ मेगावाट मात्र पुग्ने भएकाले बाँकी माग भारतबाट आयात गरेर धान्नुपरेको छ।
भारतबाट विद्युत् आयात मुख्यतः ४०० केभी ढल्केबर–मुजफ्फरपुर लाइन र १३२ केभी टनकपुर–महेन्द्रनगर तथा मैनैया–सम्पतिया लाइनमार्फत भइरहेको छ । पछिल्लो स्वीकृतिसँगै अब दैनिक १५ घण्टासम्म ६०० मेगावाट बिजुली नियमित रूपमा ल्याउने सुविधा नेपालले पाउने भएको छ ।
प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गर्दै आएको छ ।








प्रतिक्रिया